इटहरीः नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. २ मा निर्वाचन प्रक्रिया सुरु भइसकेपछि उत्पन्न प्राविधिक समस्याको समाधान निर्वाचनकै माध्यमबाट खोजिनुपर्नेमा सहमतिका नाममा गुटगत भागबण्डा गर्न खोजिएको भन्दै क्षेत्रीय सभापतिका उम्मेदवार सुदीप अधिकारीले आपत्ति जनाएका छन्।

अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै निर्वाचन प्रक्रियामा सहभागी क्षेत्रीय प्रतिनिधिको मताधिकारलाई कुण्ठित पारेर पहुँच र गुटगत निकटताका आधारमा केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गर्ने प्रयास गरिएको आरोप लगाएका छन्।

उनले निर्वाचन प्रक्रिया सुरु भइसकेपछि सिर्जित प्राविधिक समस्याको निष्पक्ष समाधान खोजेर पुनः पारदर्शी जनादेशमा जानुपर्नेमा त्यसो नगरी ‘सहमति’का नाममा निश्चित व्यक्तिलाई संस्थागत गर्न खोज्नु पार्टीको आन्तरिक लोकतन्त्रमाथिको गम्भीर प्रहार भएको उल्लेख गरेका छन्।

अधिकारीले निर्वाचनमा सहभागी भइसकेका क्षेत्रीय प्रतिनिधिहरूलाई आफ्नो मताधिकार प्रयोग गर्ने अवसरबाट वञ्चित गर्नु लोकतान्त्रिक अभ्यासविपरीत हुने बताएका छन्। उनले शक्तिको प्रभावमा आफ्ना निकट व्यक्तिलाई संस्थागत गर्ने प्रवृत्तिले कांग्रेसभित्रको लोकतान्त्रिक निष्ठा, निष्पक्षता र विधिको शासनमाथि प्रश्न उठाएको दाबी गरेका छन्।

‘हारजित चुनावको स्वाभाविक प्रक्रिया हो’ भन्दै अधिकारीले निर्वाचनमा उम्मेदवार बनेर आफ्नो मत सुरक्षित गर्न तयार भएका पार्टीका नेता तथा कार्यकर्तालाई पाखा लगाएर संरचना कब्जा गर्ने प्रयास भएको आरोप लगाएका छन्।

उनका अनुसार यस्तो अभ्यासले पार्टीभित्र अवसरवाद र भागबण्डालाई प्रोत्साहन गर्ने खतरा हुन्छ। निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका उम्मेदवार र मतदाताको अधिकारलाई सम्मान गर्दै विधिसम्मत प्रक्रियाबाट नेतृत्व तथा प्रतिनिधि चयन गर्नुपर्ने उनको जोड छ।

अधिकारीले आफ्नो धारणा सार्वजनिक गर्दै कांग्रेसले आफूलाई परिवर्तन र लोकतान्त्रिक पद्धतिको पार्टीका रूपमा प्रस्तुत गरिरहेको अवस्थामा आन्तरिक निर्वाचनमा समेत पारदर्शिता र प्रतिस्पर्धाको अभ्यास हुनुपर्ने बताएका छन्।

उनले अन्त्यमा प्रश्न गरेका छन्, “के यही हो त हामीले सोचेको र खोजेको ‘बदलिएको कांग्रेस’?”

अधिकारीको उक्त अभिव्यक्तिले सुनसरी क्षेत्र नं. २ मा कांग्रेसको आन्तरिक निर्वाचन प्रक्रिया, सहमतिको प्रयास र महाधिवेशन प्रतिनिधि चयनको विषयलाई पुनः बहसमा ल्याएको छ।