काठमाडौंः  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने बैठकमा स्थानीय निर्वाचनको तयारीसहित संगठनात्मक तथा समसामयिक विषयमा छलफल हुने भएको छ।

रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक आज दिउँसो ३ बजे काठमाडौंको घन्टीघर, चमती, वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।


बैठकको प्रमुख कार्यसूचीमा स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन गर्ने विषय रहेको छ। यससँगै पार्टीका विभिन्न विभागका प्रमुख तथा उपप्रमुख मनोनयनबारे पनि छलफल हुने कार्यसूची तय गरिएको छ।


त्यस्तै, केन्द्रीय समिति र प्रतिनिधि सभा सदस्यको नेतृत्वमा सञ्चालन गर्ने भनिएको ‘हामी आउँदै छौँ’ अभियान सम्बन्धमा पनि बैठकमा छलफल हुनेछ। उक्त अभियानको स्वरूप, सञ्चालन तथा संगठन विस्तारसँग जोडिएका विषयमा निर्णय हुन सक्ने रास्वपाले जनाएको छ।


बैठकमा मधेस प्रदेश संगठनको अडिट रिपोर्ट पनि प्रस्तुत तथा छलफलका लागि राखिएको छ। यसबाहेक अन्य विविध विषयमा समेत छलफल हुने कार्यसूचीमा उल्लेख छ।


रास्वपाले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै संगठनात्मक गतिविधि तीव्र बनाइरहेका बेला बस्न लागेको केन्द्रीय समिति बैठकलाई पार्टीको निर्वाचन तयारी र संगठन व्यवस्थापनसँग जोडेर हेरिएको छ।