धरानः धरानमा विद्यार्थी आन्दोलनका अगुवा रोजन शंकरले फिनेल सेवन गरेको घटनामा आफूमाथि लगाइएका आरोपको निष्पक्ष छानबिन गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशका निर्वतमान सभापति सरिन तामाङले इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका छन्।

तामाङले बुधबार इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिँदै घटनासँग सम्बन्धित सम्पूर्ण तथ्य र प्रमाणको वैज्ञानिक ढंगबाट अनुसन्धान गर्न माग गरेका हुन्।

फिनेल सेवन गर्नुअघि रोजन शंकर धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अइन्द्र विक्रम बेघाको कार्यकक्षअगाडि शिक्षकको माग राख्दै अनशनमा बसेका थिए। अनशन तोड्ने क्रममा शंकरले आफू ‘दबाब र प्रभाव’ मा परेको आशय व्यक्त गरेपछि उक्त विषय थप चर्चामा आएको थियो।

तामाङले आफू घटनामा संलग्न रहेको भन्दै सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट लगाइएका आरोपको आधारमा मात्र निष्कर्षमा नपुग्न प्रहरीसमक्ष आग्रह गरेका छन्। उनका अनुसार घटनासँग सम्बन्धित भिडियो फुटेजमा उपस्थिति देखिँदैमा कसैलाई घटनामा संलग्न भएको निष्कर्ष निकाल्नु उचित हुँदैन।

उनले घटनासँग सम्बन्धित सम्पूर्ण भिडियो फुटेज, सीसीटीभी फुटेज, फोन कल डिटेल, म्यासेज तथा प्रत्यक्षदर्शीको बयान लगायतका प्रमाणलाई वैज्ञानिक र निष्पक्ष रूपमा परीक्षण गर्न माग गरेका छन्।

तामाङले आफ्नो वास्तविक भूमिका र घटनामा संलग्नता भए/नभएको अनुसन्धानबाट स्पष्ट पार्नुपर्ने बताएका छन्। अनुसन्धानबाट आफ्नो संलग्नता पुष्टि भए कानुनबमोजिम कारबाही भोग्न तयार रहेको तर संलग्नता नरहेको प्रमाणित भए आफूमाथि लगाइएका आरोपको सत्यतथ्य सार्वजनिक हुनुपर्ने उनको माग छ।

WhatsApp Image 2026-09-30 at 20.57.32

ss2

उजुरीमा रोजन शंकरले अनशन तोड्ने क्रममा व्यक्त गरेको ‘दबाब र प्रभाव’ सम्बन्धी विषयमा समेत आवश्यक अनुसन्धान गर्न माग गरिएको छ। शैक्षिक नियुक्ति, बढुवा, सरुवा वा अन्य प्रशासनिक विषयमा राजनीतिक दबाब तथा हस्तक्षेप भए/नभएको विषयसमेत अनुसन्धानको दायरामा ल्याउन तामाङले आग्रह गरेका छन्।

उनले यस्ता घटनाको पुनरावृत्ति रोक्न सम्बन्धित निकायले आवश्यक संस्थागत व्यवस्था गर्नुपर्नेमा समेत जोड दिएका छन्।

तामाङले आफू पीडितको समस्या समाधान तथा जनताको पक्षमा भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै अनुसन्धानबाट वास्तविकता बाहिर ल्याउन माग गरेका छन्।

WhatsApp Image 2026-09-30 at 07.12.40

उनको मागको सार ‘सत्य प्रमाणबाट स्थापित होस्, निर्दोषमाथि अन्याय नहोस् र दोषी उम्कन नपाओस्’ भन्ने रहेको छ।

रोजन शंकरले फिनेल सेवन गरेको घटनापछि सामाजिक सञ्जालमा विभिन्न व्यक्ति तथा समूहको संलग्नताबारे आरोप–प्रत्यारोप भइरहेका बेला तामाङले प्रहरीमा उजुरी दिएका हुन्। अब प्रहरीले घटनासँग सम्बन्धित भिडियो, फोन विवरण, सन्देश, प्रत्यक्षदर्शीको बयानलगायत प्रमाणका आधारमा अनुसन्धान अघि बढाउने विषय महत्वपूर्ण बनेको छ।