तेह्रथुमः तेह्रथुमको म्याङलुङ–ओख्रे–शुक्रबारे सडकखण्डअन्तर्गत लम्बु खोलामा निर्माण भइरहेको मोटरेबल पुल निर्माणको काम सकिएको छ ।
पुल निर्माण सम्पन्न भएर रङरोगनको काम भइरहेको बताइएको छ । पुल निर्माण सम्पन्न भएकाले केही साताभित्रै उद्घाटन गरी यातायात सञ्चालनमा ल्याउने तयारी रहेको म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले बताए ।
तत्कालीन जिल्ला विकास समितिले पुल निर्माणको जिम्मा हेटौँडाको सपना निर्माण सेवालाई दिएको थियो । ५ करोड ९८ लाख ४७ हजार २ सय ६१ रुपैयाँमा कामको जिम्मा लिएको कम्पनीले निर्धारित म्यादभन्दा ढिला गरी भए पनि पुल निर्माणको काम सकेको हो ।
४८ मिटर लम्बाइ र ६ मिटर चौडाइ रहने उक्त पुल स्टिल प्लेटमाथि आरसिसी स्ल्याब लगाएर बनाइएको छ । पुल निर्माणको काम सम्पन्न भएको पुल निर्माणमा कार्यरत इञ्जिनियर अमरेन्द्र चौधरीले बताए ।
पुल बनेसँगै वारिपारिका सडक स्तरोन्नतिको कामसमेत अघि बढ्ने भएको छ । छथर गाउँपालिका क्षेत्रको सडक स्तरोन्नति गरी अब म्याङलुङदेखि छथर गाउँपालिकासम्म सिधा यातायात सञ्चालन गर्ने तयारी रहेको छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताए ।