इटहरीः सुनसरी–३ का सांसद अशोक कुमार चौधरीले संक्रामक पशुरोग नियन्त्रणका लागि रोग फैलिसकेपछि उपचार र नियन्त्रण गर्नेभन्दा समयमै पहिचान, रोकथाम तथा प्रभावकारी प्रतिक्रिया प्रणाली विकास गर्नुपर्ने बताएका छन्।
बुधबार बसेको संसद् बैठकमा राष्ट्रिय सभाबाट उत्पत्ति भएको ‘संक्रामक पशुरोग (नियन्त्रण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा धारणा राख्दै सांसद चौधरीले पशुरोगलाई केवल पशु स्वास्थ्यको विषयका रूपमा हेर्न नहुने बताए।
उनले नेपालको ग्रामीण अर्थतन्त्रको मुख्य आधार कृषि र पशुपालन रहेको उल्लेख गर्दै लाखौँ किसानको जीविकोपार्जन, खाद्य सुरक्षा र पोषणको अवस्था प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा पशुधनसँग जोडिएको बताए। पशुमा फैलिने संक्रामक रोगले किसानको आयसँगै समग्र ग्रामीण अर्थतन्त्रमा समेत गम्भीर असर पार्ने उनको भनाइ थियो।
सांसद चौधरीले नेपाल पशु चिकित्सा परिषद्को अध्ययनलाई उद्धृत गर्दै बर्डफ्लु, लम्पी स्किन र अफ्रिकन स्वाइन फिभरलगायतका संक्रामक पशुरोगका कारण पछिल्ला तीन वर्षमा किसानले करिब ७५ अर्ब ५२ करोड रुपैयाँ बराबरको आर्थिक क्षति व्यहोर्नुपरेको बताए।
उनले प्रस्तुत विधेयकले संक्रामक पशु तथा माछाजन्य रोगको रोकथाम, नियन्त्रण, निवारण र उन्मूलनका लागि आवश्यक कानुनी आधार निर्माण गर्न खोजेकाले विधेयक सकारात्मक रहेको बताए।
रोगको प्रकोप देखिनासाथ संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय गरी क्वारेन्टाइन तथा बफर जोन निर्धारण गर्ने र पशु तथा पशुजन्य उत्पादनको सुरक्षित व्यापारका लागि आधार तयार गर्ने व्यवस्था सकारात्मक रहेको उनले उल्लेख गरे। तर कानुन प्रभावकारी बनाउन त्यसको कार्यान्वयन क्षमता पनि बलियो बनाउनुपर्नेमा उनले जोड दिए।
‘रिपोर्ट आउँदा खोर रित्तिसक्छ’
सांसद चौधरीले केही महिनाअघि कोशी प्रदेशमा फैलिएको बर्डफ्लुको संक्रमणको उदाहरण दिँदै पशुरोग परीक्षण प्रणालीमा देखिएको समस्याप्रति सरकारको ध्यानाकर्षण गराए।
उनका अनुसार सुनसरी, मोरङ र झापाका किसान बर्डफ्लुको संक्रमणबाट प्रभावित हुँदा रोग पहिचानका लागि एक किसानले कुखुराको नमुना परीक्षण गर्न काठमाडौं पठाउनुपर्ने अवस्था आएको थियो। परीक्षणको रिपोर्ट आउन एक साता लाग्दा किसानको खोर नै रित्तिसकेको उनले बताए।
‘रोग नियन्त्रणको गति र प्रयोगशाला परीक्षणको गति एउटै हुनुपर्छ’ भन्दै चौधरीले तत्काल रोग पहिचान गर्न सक्ने व्यवस्था आवश्यक रहेको बताए।
उनले सातै प्रदेशमा आवश्यक पूर्वाधार र दक्ष जनशक्तिसहितका पशुरोग परीक्षण प्रयोगशाला स्थापना तथा विद्यमान प्रयोगशालाको सुदृढीकरण गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए।
‘एक स्वास्थ्य’ अवधारणा कार्यान्वयन गर्नुपर्ने
सांसद चौधरीले पशुबाट मानिसमा सर्न सक्ने रोगको जोखिमलाई समेत ध्यानमा राखेर पशु स्वास्थ्य, मानव स्वास्थ्य र वातावरणीय स्वास्थ्यबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए।
उनले ‘एक स्वास्थ्य’ (One Health) अवधारणालाई व्यवहारमा कार्यान्वयन गर्दै तीनवटै क्षेत्रबीच संस्थागत समन्वय र सहकार्यको व्यवस्था गर्नुपर्नेमा जोड दिए।
त्यस्तै, महामारी नियन्त्रणका क्रममा किसानको पशुधन नष्ट गर्नुपर्ने अवस्था आएमा त्यसको सम्पूर्ण आर्थिक भार किसानले मात्र बोक्न नहुने उनले बताए।
वैज्ञानिक मूल्यांकनका आधारमा समयमै, पारदर्शी र सहज रूपमा राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था विधेयक तथा कार्यान्वयन प्रणालीमा सुनिश्चित गर्नुपर्ने चौधरीको माग छ।
‘क्षतिपूर्ति लिन किसानले कार्यालय–कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गरिनुपर्छ’, उनले भने।
उनले संक्रामक पशुरोग नियन्त्रणलाई प्रभावकारी बनाउन कानुनी व्यवस्था मात्र नभई परीक्षण पूर्वाधार, दक्ष जनशक्ति, अन्तरसरकारी समन्वय, शीघ्र सूचना प्रणाली तथा किसानमैत्री क्षतिपूर्ति प्रणालीलाई समेत सँगसँगै अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन्।




















