इटहरीः फिल्म प्रचारका क्रममा इटहरी आएका चलचित्र समर लभका नायक आशिष पियाले पात्र अनुसारको अनुहार नभए पनि चलचित्रमा राम्रो अभिनय गरेको बताएका छन् ।

उपन्यासको पात्र अनुसारको नायक छनोट नभएको आलोचना बारम्बार सामाजिक सञ्जालमा आएपछि आशिषले पात्र अनुसारकै अभिनय गरेको दाबी गरेका छन् ।

‘समर लभ’मा विराटनगरको सामान्य आर्य परिवारको एक औपन्यासिक पात्र अतीत शर्मा रहेकामा चलचित्रमा भने ‘कोरियन फेस’ भएको नायकलाई पात्र बनाएको भन्ने विषयमा सामाजिक सञ्जालमा असन्तुष्टि देखिएको थियो ।

उपन्यासमा भएको पात्रको जस्तो पारिवारिक पृष्ठभूमिमा कोरियन लुक्स भएको नायकले जीवन्त अभिनय गर्न नसक्ने प्रतिक्रिया सामाजिक सञ्जालमा आएको बेला उनले राम्रो अभिनय दिएको बताएका हुन् । २ करोड ८० लाख बढीको लागत रहेको चलचित्र ‘समर लभ’ नेपालका विभिन्न ठाउँका साथै नर्वे, सिंगापुर र मलेसियामा समेत सुटिङ भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

चलचित्रमा सरोज खनाल, सुरजसिंह ठकुरी, नम्रता सापकोटालगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्र माघ २५ गतेदेखि प्रदर्शन हुनेछ ।