भारत लैजाने क्रममा प्रहरीले सकुशल उद्धार गर्‍यो

इटहरीः धनुषाको विदेह नगरपालिका–६, तीनकौरियाबाट हराएका १५ महिनाका बालक सिद्धान्त महतोलाई प्रहरीले सकुशल उद्धार गरेको छ। बालकलाई अपहरण गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले उद्धार गरेको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार भदौ १८ गते साँझ करिब ४ः४० बजे विदेह नगरपालिका–६ तीनकौरियाका कमलेश महतोका १५ महिनाका छोरा सिद्धान्त आफ्नै घरको आँगनमा खेलिरहेका बेला हराएका थिए। बालक हराएको सूचना प्राप्त भएपछि गिद्धा प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

घटनाको गम्भीरतालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) रेशम खड्काको कमाण्डमा ६० जना प्रहरी परिचालन गरिएको थियो। प्रहरीले तालिमप्राप्त कुकुरको समेत सहयोगमा घटनास्थल तथा आसपासका क्षेत्रमा खोजतलास सुरु गरेको थियो।

त्यसैगरी, जिल्ला प्रहरी कार्यालय धनुषाका साथै मधेश प्रदेश प्रहरी कार्यालयबाट समेत प्रहरी निरीक्षक बबिन्द्र नेम्वाङको कमाण्डमा प्रदेश सूचना विश्लेषण तथा अनुसन्धान समूह (PIIT) सहितको संयुक्त टोली परिचालन गरी खोज तथा अनुसन्धानलाई तीव्रता दिइएको थियो।

अनुसन्धानबाट अपहरण भएको खुलासा

प्रहरीको अनुसन्धानका क्रममा बालकलाई धनुषाको कमला नगरपालिका–८, हथलेट्वा बस्ने करिब ४१ वर्षीया पूर्णिमा देवी पासवानले अपहरण गरेको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ती महिलाले बालकलाई लुकाउँदै नेपाल तथा भारतका विभिन्न स्थानमा लैजाँदै गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो। त्यसपछि प्रहरीले नेपाल–भारत सीमाका विभिन्न नाकामा २४ घण्टा प्रहरी टोली परिचालन गरी निगरानी तथा खोजतलासलाई तीव्र बनाएको थियो।

निरन्तरको खोजी तथा प्राविधिक अनुसन्धानपछि प्रहरीले भदौ १९ गते दिउँसो करिब ३ः३५ बजे बालकलाई उद्धार गर्न सफल भएको हो।

pppppp

प्रहरीका अनुसार पूर्णिमा देवीले बालकलाई भारततर्फ लैजाने क्रममा बालकको घरबाट करिब ३०० मिटर दक्षिणतर्फको सडकमा छाडेर भाग्न खोजेकी थिइन्। सोही क्रममा प्रहरीले बालकलाई तत्काल उद्धार गरी स्वास्थ्य परीक्षणपछि अभिभावकको जिम्मा लगाएको थियो। बालकको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

अपहरणमा संलग्न महिला पक्राउ

बालकलाई सकुशल उद्धार गरेपछि प्रहरीले अपहरणमा संलग्न रहेको आरोपमा पूर्णिमा देवी पासवानलाई समेत पक्राउ गरेको छ। उनलाई भदौ १९ गते साँझ करिब ४ः४५ बजे धनुषाको विदेह नगरपालिका–१, महिनाथपुरस्थित दशगजा क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेकी महिलामाथि अपहरण, शरीर बन्धक, मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

बालक हराएको केही घण्टामै प्रहरीले विभिन्न टोली परिचालन गरी खोजीलाई तीव्रता दिएको थियो। तालिमप्राप्त कुकुरको प्रयोग, सीमा क्षेत्रमा निगरानी तथा प्राविधिक अनुसन्धानलाई एकीकृत गर्दै गरिएको खोजीपछि बालकलाई छोटो समयमै सकुशल उद्धार गर्न सफल भएको प्रहरीले जनाएको छ।