धरानः लोकेसन थियो, सप्तकोशी नदीको किनार । उद्देश्य थियो, ग्ल्यामर फोटो सुट ।व्यावसायिक फोटोग्राफर वीरेन सुब्बाको नेतृत्वमा शनिबार बिहान धरानबाट युनिक फोटोग्राफी टीम  त्यसतर्फ हिँड्यो । टोलीमा अन्य दुई जना फोटोग्राफरहरू जीवन लिम्बू र विशाल थेबे तथा कविद्वय राज माङ्लाक र सुदीप पाख्रिन सहभागी थिए । मोडल थिइन्, धरान–१६ की प्रेरणा पराजुली । बिहान १० बजे नै धरानबाट हिँड्ने पूर्व योजना भए पनि टोली करीब ११ बजेमात्र हिँडेको थियो ।

टोलीका अगुवा सुब्बाले लोकेसन छनोट गर्दा मध्याह्न्न १२ बजेको थियो । वराह नगरपालिकाको वडा नम्बर ८ मा पश्चिमपट्टी सप्तकोशी किनारमा टोलीलाई रोकेर उनले फोटोग्राफरद्वय लिम्बू र थेबेलाई सामग्री तयार पार्न निर्देशन दिए । आफू भने मोडल पराजुलीको मेकअप गर्न थाले । फोटोग्राफरहरू लिम्बू र थेबेले नदी किनारको बालुवाको थुप्रोमा रेडिमेड टेन्ट लगाए । उनीहरूले रिफ्लेक्टर, सबबक्सलगायत सबै सामग्री तयार पारे ।

टोली नेता सुब्बाले करीब १ घण्टामा मेकअप सकेपछि फोटो सुट शुरु भयो । सुब्बाले दिएको निर्देशनअनुसार मोडल पराजुली घरी टाउको उचाल्थिन्, घरी हात । सुब्बा घरी दाहिने खुट्टा उचाल्न लगाउँथे, घरी देब्रे खुट्टा । फोटोग्राफरहरू पनि उनकै निर्देशनमा घरी सुतेर सट लिन्थे, घरी ढल्किएर । फोटोग्राफरहरूको दुःख देखेर कवि पाख्रिन भन्दै थिए, ‘फोटो खिच्न पनि सजिलो त कहाँ रहेछ ?’ कवि माङ्लाक पनि छेउमा उभिएर सही थप्दै थिए ।

prerana prajuli pradeshportal2

घाम बिस्तारै पश्चिमतिर ढल्कँदै जाँदा चिसो पनि बढ्दै थियो । सप्तकोशीको बगरमा रातो भेस्ट र जिन्सको हाफ पेन्टमा विभिन्न पोजमा फोटो लिएपछि सुब्बा कराए, ‘अब पानीमा खिच्ने ।’ मोडल पराजुली सेतो भेस्टमा देखिइन् । त्यसपछि माघको चिसोमा सप्तकोशीको पानीभित्र फोटो सुट शुरु भयो । त्यहाँ पनि सुब्बा पोज सिकाउँथे, लिम्बू र थेबे क्यामेरा सोझ्याउँथे । चाहेजस्तो फोटो नआउँदा सुब्बा एउटै पोजमा कयौँपटक सट हान्न लगाउँथे । अपेक्षित सट आउँदा उनी खुशीले नाच्थे पनि । घरी उनी आफैँ क्यामेरा ताकेर एङ्गल सिकाउँथे । मोडल पराजुली चिसोले काम्न थालिसकेकी थिइन् । फोटोग्राफरहरू पनि भिजिसकेका थिए ।

फोटोग्राफरद्वय लिम्बू र थेबे पनि मोडललाइ घरी आँखा चिम्म गर्न त घरी मुख चुच्चो पार्न सिकाइरहेका थिए । उनीहरू एउटै पोजमा विभिन्न एङ्लबाट फोटो लिन्थे र सुन्दर फोटो आएमा एकअर्कालाइ बुढी औँला देखाउँथे ।

prerana prajuli pradeshportal

उनीहरू मधुरो सूर्यलाई पृष्ठभूमिमा राखेर फोटो लिन चाहन्थे । बेलुका साढे ४ बजेपछि सुब्बाले भने, ‘अब बेला भयो ।’ फोटोग्राफर थेबे पनि सूर्यले नपर्खने भएकाले चाँडै तयारी गर्न भन्दै थिए । मोडल फेरि अर्काे ड्रेसमा आइन् । रातो जामामा । लिम्बू र थेबे फेरि एकपटक तयार भए । सप्तकोशीको चिसो बगरमा अनेक स्टाइलमा ‘सट’ लिँदालिँदा दुवै फोटोग्राफर थाकिसकेका थिए, मोडल पनि थकित भइसकेकी थिइन् । सूर्य पनि शायद थकित भएर अस्ताउन लागेको थियो । थाकिसकेका निर्देशक सुब्बाले ‘प्याक अप’ भन्दा घडीको सुइले सवा ५ बजेको सङ्केत गर्दै थियो ।

prerana parajuli pradeshportal

धरानमा पहिलोपल्ट ग्ल्यामर फोटो सुट आफूले गरेको सुब्बा बताउँछन् । २०५३÷५४ सालतिर आफूले ग्ल्यामर फोटो खिचेको उनी सम्झन्छन् । मोडल पराजुलीले डेढ वर्ष अघिदेखि आफूहरूसँग फोटो सुट गर्न चाहेको फोटोग्राफर थेबेले जनाए । ‘दाइहरूसँग सल्लाह गरेर आजको समय मिलायौँ,’ उनले भने । समूहमा बसेर काम गर्दा रमाइलो हुने अनुभव अर्का फोटोग्राफर लिम्बूले सुनाए । मोडल पराजुलीले पनि आउटडोर फोटो सुटमा रमाइलो हुने अनुभव सुनाइन् । आफूले ४ वर्ष अघिदेखि यस क्षेत्रमा काम गरेको उनले जानकारी दिइन् ।

सामान प्याकिङ गर्न झण्डै एक घण्टा लाग्यो । टोली त्यहाँबाट हिँड्दा ठ्याक्कै ६ बजेको थियो । कविद्वय माङ्लाक र पाख्रिन सप्तकोशीको चिसो सिरेटोले कविता पनि फ्रिज बनाइदिएको भन्दै ठट्टा गरिरहेका थिए ।