इटहरीः गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सशस्त्र प्रहरी बल नेपालले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा तीव्र बनाएको छ। सशस्त्र प्रहरीले बाढी प्रभावित विभिन्न क्षेत्रका ३ हजार ६ सयभन्दा बढीलाई स्वास्थ्य उपचार सेवा प्रदान गरेको जनाएको छ।
बाढी आएको दिनदेखि नै नेपाल एपीएफ अस्पताल बलम्बुबाट दक्ष चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा परिचालन गरी विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
चिकित्सकसहितको टोलीले रसुवाको जिल्ला अस्पताल धुन्चे र टिमुरे, नुवाकोटको आयुर्वेद चिकित्सालय, क्रियापुत्री भवन, केन्द्रीय कारागार नुवाकोट, सेतीदेवी आधारभूत विद्यालय, क्षेत्रपाल आधारभूत विद्यालय, रणभुवनेश्वरी माध्यमिक विद्यालय र नुवाकोट स्वास्थ्य चौकी लगायतका स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ।
त्यसैगरी धादिङको गल्छी तथा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत भदौ १० गतेदेखि स्वास्थ्य शिविर सञ्चालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
बाढीपछि सम्भावित सरुवा रोग फैलिन सक्ने अवस्थालाई मध्यनजर गर्दै नुवाकोटस्थित केन्द्रीय कारागारमा विशेष स्वास्थ्य परीक्षणसमेत गरिएको छ। भदौ १७ गते १८५ जना र भदौ २४ गते २१७ जना गरी ४०२ जना कैदीबन्दीको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको सशस्त्र प्रहरीले जनाएको छ। परीक्षणसँगै कैदीबन्दीलाई आवश्यक स्वास्थ्यसम्बन्धी परामर्शसमेत दिइएको छ।

स्वास्थ्य उपचारमा मात्र सीमित नभई विपद्पछि फैलन सक्ने महामारी नियन्त्रण तथा वातावरणीय स्वच्छता कायम गर्न सशस्त्र प्रहरीको टोलीले देवीघाट बजार क्षेत्र, देवीघाट माध्यमिक विद्यालय परिसर र केन्द्रीय कारागार क्षेत्रमा किटनाशक औषधि छरेको छ। नुवाकोटको क्रियापुत्री भवन क्षेत्रमा सरसफाइ कार्यक्रमसमेत सञ्चालन गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा बालबालिका, वृद्धवृद्धा तथा कैदीबन्दीलगायतलाई स्वास्थ्य सेवा निरन्तर उपलब्ध गराउँदै आएको सशस्त्र प्रहरीले जनाएको छ। घाइतेको उद्धार तथा उपचारका लागि मास क्याजुअल्टी भेहिकल परिचालन गर्नुका साथै नेपाल एपीएफ अस्पताल र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारस्थित ट्रमा सेन्टरमा समेत बेड तयारी अवस्थामा राखिएको छ।

यसैबीच, बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालले ४ हजार २ सयभन्दा बढी कर्मचारी परिचालन गरेको छ। परिचालित टोलीले बाढीमा परेकाको खोज तथा उद्धारसँगै स्वास्थ्य सेवा, आकस्मिक औषधोपचार, होल्डिङ सेन्टर व्यवस्थापन र राहत सामग्री वितरणलगायतका काम गर्दै आएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।




















