दमकः प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले देशलाई समृद्धितर्फ अगाडि लैजान कृषि र पर्यटनको प्रवद्र्धन आवश्यक रहेको बताएका छन् ।
झापाको दमकस्थित हिमशिखर मिडिया ग्रुपको आज नवौँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै राईले देशको विकास र समृद्धिको यात्रामा सञ्चार क्षेत्रको पनि महत्वपूर्ण साथ चाहिने धारणा व्यक्त गरे । देशको विकास र समृद्धिका लागि कृषि तथा पर्यटन क्षेत्रको व्यावसायीकरण गर्न खाँचो रहेको उनको भनाइ थियो ।
सञ्चारमाध्यमलाई बलियो बनाउन प्रदेश सरकार प्रयत्नशील भएको उनको भनाइ थियो । मुख्यमन्त्री राईले कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्न प्रदेशको अवस्था अत्यन्तै उपयोगी रहेको उल्लेख गरे ।
दमक–५ मा सो मिडिया ग्रुपको नवनिर्मित भवनकोसमेत राईले उद्घाटन गरे । कार्यक्रममा प्रदेशसभा सदस्य झलकसिंह दर्लामी, मिडिया गु्रपका सञ्चालक तथा उद्योगी भोलेश्वर दुलाल, नेपाल पत्रकार महासङ्घ प्रदेश अध्यक्ष विक्रम लुइँटेललगायतले मिडिया गु्रपको वार्षिकोत्सवमा आफ्ना धारणा राखेका थिए ।