इनरुवाः सुनसरीको गढी गाउँपालिकाले सो गाउँपालिकाका वडा नम्बर ५ र ६ का विभिन्न योजनाका उपभोक्ता समितिलाई अभिमुखीकरण तालीम दिएको छ ।
उपभोक्ता समितिका पदाधिकारीलाई भेला गरेर दिगो विकासमा ध्यान दिन निर्देशन अभिमुखीकरण कार्यक्रम गरिएको बताइएको छ । कार्यक्रममा वडामा भएका योजना छनोट गर्ने, कार्यान्वयन गर्ने र प्रतिवेदन तयार पार्नेसम्मका कामको विषयमा छलफल गरिएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादवले बताए ।
उपभोक्ता समितिहरुका लागि गाउँपालिकाले नयाँ प्रावधानका बारेमा अभिमुखीकरण पनि गराउन शुरु गरेको जनाएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष यादव, उपाध्याक्ष राजकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद भट्टराई, लेखा अधिकृत दिलबहादुर खड्का तथा प्राविधिकले अभिमुखीकरण गराएको वडा सचिव हर्कुलस पोखरेलले बताए ।
गढीका सबै वडामा गरी १ सय वटा उपभोक्ता समिति गठन भएको बताइएको छ ।