इटहरीः  हिन्दुकुश हिमालय (एचकेएच) क्षेत्रको वातावरणीय तथा जलवायु अनुकूलन र दिगो सहकार्यका विषयमा छलफल गर्न भुटानको राजधानी थिम्पुमा आयोजना भइरहेको ‘२औँ एचकेएच पार्लियामेन्टेरियन्स मिट’मा नेपाली संसदीय कृषि तथा प्राकृतिक स्रोत समितिका प्रतिनिधि सदस्यहरूले सहभागिता जनाएका छन्।

सम्मेलनमा सहभागी हुन कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोक कुमार चौधरी सहित नेपाली प्रतिनिधिमण्डल भुटान प्रस्थान गरेको हो। सम्मेलनमा हिन्दुकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण, वातावरण संरक्षण, प्राकृतिक स्रोतको दिगो व्यवस्थापन तथा क्षेत्रीय सहकार्यका विषयमा छलफल भइरहेको छ।

737b52e3-6e7a-4571-8097-eac547408be1

यसैक्रममा नेपाली प्रतिनिधिमण्डलले भुटानका परराष्ट्र तथा वैदेशिक व्यापारमन्त्री माननीय डि.एन. ढुङ्गेलसँग भेटवार्ता गरेको छ। भेटमा नेपाल–भुटानबीच रहँदै आएको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा सकारात्मक छलफल भएको बताइएको छ।

भेटवार्तामा दुई देशबीच पर्यटन, व्यापार, कृषि, जलवायु परिवर्तन, प्राकृतिक स्रोत संरक्षण र संस्कृति लगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो।

हिन्दुकुश हिमालय क्षेत्र जलवायु परिवर्तनको उच्च जोखिममा रहेको क्षेत्र भएकाले यस क्षेत्रका साझा चुनौती समाधान गर्न हिमाली मुलुकहरूबीच सहकार्य, अनुभव आदानप्रदान र साझा रणनीति आवश्यक रहेकोमा सम्मेलनले जोड दिएको छ।

नेपाल र भुटानबीचको आपसी सम्बन्धलाई आर्थिक, वातावरणीय तथा सांस्कृतिक सहकार्यका नयाँ क्षेत्रसम्म विस्तार गर्न सम्मेलन महत्वपूर्ण अवसर बन्ने नेपाली प्रतिनिधिमण्डलको विश्वास छ।