फाइल तस्बिर

इटहरीः काठमाडौंको कुञ्ज थिएटरमा पहिलो पटक बुधबार प्रदर्शन गरिएको नाटक ‘बर्बरिक’ हेरेर विशिष्ट दर्शकले भावुक बन्दै यसलाई मेचीदेखि महाकालीसम्म लैजान सुझाव दिए ।

मोरङको झोराहाट नाट्य केन्द्रका कलाकारको टोलीले मञ्चन गरेको सो नाटक जननेता मदन भण्डारीको जीवनीमा आधारित छ । उपन्यासकार प्रदीप नेपालद्वारा लिखित उपन्यासको नाट्य रूपान्तरण भरत गुरागाईं र निर्देशन जीवन बरालले गरेका हुन् । भण्डारी भूमिगत राजनीतिक अवस्थामा जनताका बीच सुरक्षित रहेर कसरी काम गर्थे भन्नेदेखि २०४६ सालको जनआन्दोलनका प्रमुख कमाण्डरका रूपमा चित्रित गणेशमान सिंहलाई वीर अस्पतालमा भेट्न जाँदाका प्रसङ्गलगायत जीवराज आश्रितसहित उनको निधनका दृश्यलाई नाटकमा जीवन्त ढङ्गले दृश्याङ्कन गरिएको छ ।

तत्कालीन राजा वीरेन्द्रसंँगको भेटघाटमा भण्डारी जनताको पक्षमा कसरी प्रस्तुत भएका थिए भन्ने थाहा पाउन नाटकले धेरै सघाएको छ । नाटकमा २ जना नाबालक छोरीसँंगै शोकाकुल विद्यादेवी भण्डारीको चित्रणले दर्शकलाई भावुक बनाउँछ ।

भण्डारीलाई पक्राउन लाग्ने तत्कालीन राज्य यन्त्रका पुर्जाका रूपमा जँड्याहा महिला र प्रहरीको प्रभावशाली अभिनयले दर्शकलाई आकर्षित गर्छ । भण्डारीको भूमिकामा भरत गुरागाई र वीरेन्द्रको भूमिकामा प्रयाग न्यौपानेको अभिनयको सबैले तारिफ गरे ।

नाटक हेरिसकेपछि वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले भण्डारीजस्ता क्रान्तिकारी कम्युनिष्टका तत्कालीन गतिविधिको मार्मिक चित्रण गरिएको नाटकलाई देशैभर लैजानुपर्ने धारणा व्यक्त गरे ।

पहिलो प्रदर्शनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, पूर्वमन्त्री एवं उपन्यासकार नेपाल, राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारी, सांसद खेम नेपाली तथा सरिता न्यौपाने, कवि तथा राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष श्यामल एवं प्राज्ञ श्याम तमोटलगायतको उपस्थिति थियो । सो नाटक कुञ्ज थिएटरमा २ हप्तासम्म प्रदर्शन हुने बताइएको छ ।

jhorahat pradeshportal 1 jhorahat pradeshporatl 2