राजविराजः  सप्तरीको डाक्नेश्वरी नगरपालिका ८ का ३२ वर्षिय राजकुमार खंगको हत्यामा गाउँकै एक युवतीको संलग्नता रहेको खुलेको छ । आफ्नो पत्नी हुँदा हुँदै परस्त्री संगको जबरजस्ती अवैध समबन्धका कारण हत्या भएको अनुसन्धानबाट खुलेको हो ।

तीन दिन अघि राजकुमारको चक्कु प्रहार गरी घाँटी रेटेर हत्या गरिएको थियो । हत्या गरी फालिएको उनको मृत शरीर प्रहरीले बिहीवार बिहान डाक्नेश्वरी नगरपालिका ८ तथा राजगढ गाउँपालिका ४ को बीच सिमामा पर्ने लबका पोखरी किनारबाट अर्धनग्न अवस्थामा फेला पारेको थियो । हत्याको अनुसन्धानका क्रममा प्रहरीले डाक्नेश्वरी नगरपालिका ९ की २१ बर्षीया तुलसी देवी सरदारलाई छिमेकी जिल्ला सुनसरीको इनरुवा नगरपालिका ९ वबिया टोलबाट पक्राउ गरेको हो ।

शुक्रवार कर्तव्य ज्यान मुद्दामा सप्तरी जिल्ला अदालतमा पेश गरी उनलाई ५ दिनको म्याद थपेर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार बस्नेतले जानकारी दिए । उनको साथ वाट मृतक राजकुमारको मोवाईल तथा उनकै बयानका आधारमा हत्यामा प्रयोग गरिएको चक्कु लुकाएको ठाउँ घट्नास्थल नजिकै रहेको लवका पोखरीबाट बरामद गरिएको प्रहरी नायव उपरीक्षक बस्नेतले जानकारी दिए ।

प्रारम्भिक बयानमै तुलसीले अपराध स्वीकारेको उनको भनाई छ । थप कुरा अनुसन्धान टुङ्गयाएपछि सार्वजनिक गर्ने उनले बताए ।

स्रोतका अनुसार तुलसीका श्रीमान रोजगारीका शिलशीलामा लामो समय देखि विदेशमा छन् । स्थानिय स्तरका कालाकार समेत रहेका राजकुमार र तुलसी गाउँघरमा सांस्कृतीक कार्यक्रमहरुमा संगै काम गर्न थालेपछि नजिकिएका थिए । यसै क्रममा उनीहरुको फोनमा कुराकानी गर्ने क्रम पनि बढेको थियो ।

बीस दिन अघि घट्ना स्थल आसपासकै एकान्त स्थलमा दुबैजना मदिरा सेवन पनि गरेका थिए । आफूले अनिच्छा जाहेर गर्दा पनि जवरजस्ती मदिरा खुवाएर राजकुमारले जवरजस्ती करणी गरेको तुलसीको भनाईको छ । त्यसपछि दुवैजनाबीच मनमुटाब सुरु भएको थियो ।

तीन दिन अघि भएको पछिल्लो घटनामा “जरुरी काम छ” भन्दै सोही स्थानमा राजकुमारले बोलाएको तुलसीले बताएकी छिन् । फेरी पनि मदिरा सेवन गराई बलात्कार गर्ने हो कि भन्ने आशंका लागेर सुरक्षाका लागु चक्कु लुकाएर त्यहाँ पुगेको बताईएको छ ।

त्यहाँ पुगेपछि मदिरा सेवन गर्न राजकुमारले दवाव दिएको तर, आफूले मदिरा सेवन गरेको नाटक गर्दै ग्लासमा हालिएको सबै मदिरा लुकाएर खन्याइ दिएको उनको भनाई छ ।

मदिरा सेवन गरि लठ्ठ भएका राजकुमारले बलात्कारको प्रयास गर्न थालेपछि आफूले लुकाई राखेको चक्कु निकालेर छाती र घाँटीमा प्रहार गरेको तुलसीले बताएकी छिन् ।

चक्कु प्रहारबाट राजकुमारको मृत्यु भएपछि घट्नास्थलबाट करिव ५० मिटर सम्मको दुरीमा घिसारेर पोखरी डिलमा पुर्याई तुलसी भागेको प्रहरी अनुसन्धानले देखाएको छ । घट्नाको अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्यालयबाट डग स्क्वाड टोली ल्याएर पनि अनुसन्धान गरिएको थियो ।

तर त्यसबाट खासै संकेत फेला पर्न सकेन । प्रहरी नायव उपरीक्षक बस्नेत नेतृत्वको अनुसन्धान टोलीले विभिन्न कोणबाट हत्याको अनुसन्धान थालेपछि घट्नाको तीन दिन भित्रै अभियुक्तको पहिचान सम्भव भएको हो । यो खबर आजको राजधानी दैनिकबाट लिइएको हो ।