इटहरीः भारतबाट नेपाल आउने भारतीय नागरिकले ५ हजार डलर रुपैयाँसम्म ल्याउन पाउने भएका छन् ।
नेपाल सरकारले भन्सार महसुल ऐनअनुसार नयाँ सूचना राजपत्रमा प्रकाशन गर्दै यो व्यवस्था गरेको हो । यसअघि भारतीय नागरिकले २५ हजार भारतीय रुपैयाँ मात्र साथमा ल्याउन पाउने प्रावधान रहेको थियो ।
नेपाल प्रवेश गर्दा ५ हजार अमेरिकी डलरभन्दा बढी मूल्यको विदेशी मुद्रा वा ट्राभलर्स चेक भएमा भन्सार विन्दुमा घोषणा अनिवार्य गरिएको छ । सरकारले भारतीय पर्यटक भनेर छुट्टै व्यवस्था नगरेपछि यही प्रावधान लागू हुने भएको हो ।
यसअघि अन्य मुलुकका पर्यटकको हकमा भने यसअघि पनि ५ हजार डलरको सुविधा उपलब्ध थियो । भारतबाट विवाहलगायतका सामाजिक कार्यमा आउने यात्रुले आफ्नो स्वप्रयोजनका लागि ल्याउने गहना आफू फर्कंदा फिर्ता लैजाने सर्तमा भन्सार कार्यालयमा घोषणा गरी ल्याउनसक्ने पनि व्यवस्था गरिएको छ । यसका लागि भने २० प्रतिशत रुपैयाँ धरौटी राख्नुपर्ने हुन्छ ।
विदेशी यात्रुले पुरुषको हकमा २५ ग्राम र महिलाको हकमा ५० ग्रामसम्म सुनको गहना र सय ग्रामसम्म चाँदीका गहना पछि फिर्ता लैजानेगरी भन्सार कार्यालयमा घोषणा गर्न पाउने प्रावधान छ । त्यसरी ल्याएको गहना यात्रु फर्कंदा भन्सार कार्यालयमा परीक्षण गराई त्यस्तो गहना ल्याउँदा राखेको धरौटी रकम फिर्ता लैजानसक्ने बताइएको छ ।
सूचनामा नेपालबाट बाहिर जाने र विदेशी मुलुकबाट नेपाल भित्रने यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तु सम्बन्धमा नयाँ प्रावधान व्यवस्था गरेको छ ।
भन्सार ऐन, २०८१ को अधिकार प्रयोग गर्दै अर्थ मन्त्रालयले भन्सार छुटसम्बन्धी नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।
सरकारले हालै प्रकाशन गरेको राजपत्रअनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका र कम्तीमा ६ महिना लगातार काम गरी फर्किएका नेपालीले आफूले प्रयोग गरेको एक थान मोबाइलबाहेक थप एक थान नयाँ मोबाइल फोन पूर्ण भन्सार छुटमा ल्याउन पाउने व्यवस्था गरिएको छ ।
कम्तीमा १२ महिना काम गरी फर्किएका र सामाजिक सुरक्षा कोषमा सूचीकृत रहेका नेपालीले जुनसुकै आकार वा प्रकारको एक थान टिभी पूर्ण भन्सार छुटमा ल्याउन पाइने व्यवस्था गरिएको छ । सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका भए पनि १२ महिना कार्य अनुभव प्रमाणित गरे ३२ इन्चसम्मको टिभीमा छुट पाइने व्यवस्था गरिएको छ ।
त्यस्तै, वैदेशिक यात्राबाट फर्किने सबै नेपाली नागरिकले आफूले प्रयोग गर्दै गरेको ल्यापटप वा ट्याब्लेट, घडी, क्यामरा, भिडियो क्यामरा, मोबाइल फोन ल्याउन पाइने प्रावधान रहेको छ ।
यसैगरी, बिरामीले ल्याएका औषधि, शारीरिक अशक्तताका सहायक उपकरण, ७ केजीसम्म खाद्य परिकार र एक लिटरसम्मको मदिरा पनि ल्याउन पाइने व्यवस्था रहेको छ ।
नेपालमा स्थायी बसोबास गर्ने नेपालीले भन्सार शुल्क तिरेर टिभी, म्युजिक सिस्टम, रेफ्रिजरेटर, वासिङ मेसिन, पंखा एक–एक थान ल्याउन पाइन्छ ।
मिक्सर, जुसर, सिलाइ मेसिन, आइरन, राइस कुकर भने भन्सार तिरेर दुई–दुई थान ल्याउन पाइने प्रावधान रहेको छ । पाँच–पाँच थानसम्मका कपडा, जुत्ता, कस्मेटिक ल्याउन पाइन्छ ।
६ महिनाभन्दा बढी विदेश बसेका नेपालीले १५ हजार रुपैयाँसम्म र १ वर्षभन्दा बढी बसेकाले २५ हजार रुपैयाँसम्म मूल्यका सामग्रीमा थप छुट पाउने व्यवस्था गरिएको छ ।
विदेशी पर्यटकका हकमा भने नेपाल प्रवेश गर्ने वा बाहिरिने विदेशी यात्रुहरूले दूरबिन, ट्याब्लेट वा ल्यापटप, क्यामरा, मोबाइल, घडी, पोर्टेबल म्युजिक सिस्टम, साइकल एक–एक थान लान र ल्याउन पाइन्छ ।
मदिरा १ लिटर, २ सय खिल्ली चुरोट, ५० सिगार वा २ सय ५० ग्राम सुर्ती पनि लान पाइने वा ल्याउन पाइने व्यवस्था रहेको छ ।
यसैगरी, १० हजार रुपैयाँसम्मको औषधि, ५ हजार रुपैयाँसम्मको खाद्य परिकार, २ हजार रुपैयाँसम्मको ताजा फलफूल पनि लान पाइने राजपत्रमा उल्लेख छ ।
भन्सार घोषणा नगरी लुकाइछिपाइ ल्याइएका सामग्री जफत गरी प्रचलित कानुनअनुसार कारबाही हुने उल्लेख गरिएको छ । नेपाली नागरिकले नेपाल आउँदा बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक–एक थान, पेसागत यात्रुले प्रयोग गरी ल्याएको आफ्नो पेसासँग सम्बन्धित वस्तुहरू एक–एक थान पनि ल्याउन पाइने उल्लेख गरिएको छ ।
कुनै यात्रुले बढी संख्या वा परिमाणमा वस्तु ल्याएमा त्यस्ता यात्रुको अवस्था, परिवार संख्या, बसेको मुलुक र समयावधिसमेतलाई ध्यानमा राखी भन्सार कार्यालयको प्रमुखले औचित्य हेरी लाग्ने महसुल लिई जाँचपास गर्ने स्वीकृति दिनसक्ने व्यवस्था रहेको छ ।
विदेशमा बसेका व्यक्तिले नेपालस्थित आफन्त वा परिवारका सदस्यलाई अमेरिकी डलर ५ सयसम्मको वस्तु पठाएमा प्रमाण हेरी लाग्ने महसुल लिई जाँचपास गर्न सकिने व्यवस्था रहेको छ ।
वस्तुलाई न्यून मूल्य देखाई पठाएको पाइएमा त्यस्तो वस्तु जफत गर्न वा उल्लिखित सीमाभन्दा बढी भएको मूल्यबराबरको रकम जरिबाना र लाग्ने महसुल लिई जाँचपास गर्न सकिने व्यवस्था गरिएको छ ।
विदेश जाने नेपाली यात्रुका लागि सौगातको रूपमा प्रचलित कानुनबमोजिम निकासी गर्न निषेध नगरिएका ५० हजार रुपैयाँ मूल्यसम्मका वस्तुमा महसुल छुटको व्यवस्था रहेको छ ।
तर, मूल्य अभिवृद्धि कर लाग्ने वस्तुमा कर बिजक तथा मूल्य अभिवृद्धि कर नलाग्ने वस्तुमा स्थायी लेखा नम्बर भएको बिजक पेस गरेमा मूल्यको सीमा बन्देज लागू नहुने उल्लेख छ ।
लुकाइ छिपाइ ल्याउने वा लैजाने प्रयत्न गरेमा वा कुनै वस्तु ल्याउन र लैजान खोजेमा त्यस्तो वस्तु जफत गरी प्रचलित कानुनबमोजिम कारबाही गरिने पनि उल्लेख छ । राजपत्रमार्फत जारी सूचनामा द्विविधा परेमा भन्सार विभागको महानिर्देशकलाई निर्णय गर्ने अधिकार दिइएको छ र उनले गरेको निर्णय अन्तिम हुने बताइएको छ ।
नेपाली नागरिकले पहिलो ५० ग्रामसम्म प्रचलित दरअनुसार लाग्ने महसुल तिरेर सुन ल्याउन पाइन्छ । ५० ग्रामभन्दा बढी थप ५० ग्रामसम्म प्रचलित दरअनुसार लाग्ने महसुलका अतिरिक्त थप ३ प्रतिशत भन्सार तिरेर ल्याउन पाइन्छ । सुनको गहनाको हकमा पुरुषको हकमा २५ ग्राम र महिलाको हकमा ५० ग्रामसम्म सुनका गहनामा कुनै महसुल नलाग्ने व्यवस्था रहेको छ ।
तर, सामान्य गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औंठी, बाला, सिक्रीजस्ता वस्तुलाई भने गहनाको मान्यता नदिइने ऐनको प्रावधान छ । तोकिएको मात्राभन्दा बढी सुन वा गहना ल्याएमा भने जफत हुने ऐनको प्रावधान छ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।