इटहरीः नेपाल राष्ट्र बैङ्कका गभर्नर प्राडा विश्वनाथ पौडेलले मुलकमा उद्यमशीलताको विकासका लागि राष्ट्र बैङ्कले सहजीकरण गर्दै जाने बताएका छन् । उद्यमीहरूको विकासमा नेपाल राष्ट्र बैङ्कले सहजीकरण गर्ने बताएका छन् ।
आइएमई लिमिटेडद्वारा शुक्रबार ललितपुरमा आयोजित २५ औँ वार्षिकोत्सव समारोहमा गभर्नर पौडेलले उद्यमशीलता प्रवर्धनका लागि पुँजीको पहुँचलाई पनि सहज बनाइने धारणा राखेका हुन् ।
कार्यक्रममा पौडेलले हुन्डीबाट हुने कारोबारलाई बैङ्किङ प्रणालीमा ल्याउन आइएमई लिमिटेडले महत्वपूर्ण योगदान गरेको भन्दै प्रशंसा गरे । “आइएमईको यो योगदान धेरै ठुलो हो । चुनौती लिएर काम गर्न सक्ने व्यक्तिहरू देशका लागि आवश्यक छ ।” उनले रोजगारी र व्यावसायिक सम्भावना खोज्ने व्यक्तित्वले समग्र अर्थतन्त्रको उत्थानमा भूमिका खेल्ने टिप्पणी गरे।
नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर बमबहादुर मिश्रले नेपाल राष्ट्र बैङ्कले जारी गर्ने नीति नियम तथा निर्देशन पालना गर्न सक्षम हुने विश्वास व्यक्त गरे । आइएमई समूहका संस्थापक अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले जनताको साथ, विश्वास र सरकारको सहयोगले आइएमई समूह बलियो बन्दै आएको बताए ।