राजविराजः सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–२ की २० वर्षीया सनिसाकुमारी खंग र सोही ठाउँका २३ वर्षीय शिवजी खंग प्रेमी–प्रेमिका हुन् । आपसमा नजिकिएका उनीहरूले यौन सम्बन्ध पनि राखे । परिणाम सनिसाकुमारी गर्भवती भइन् । जब यो कुरा शिवजीका आमाबुबाले थाहा पाए, उनीहरूले सनिसाकुमारीलाई गर्भ फाल्न दबाब दिए तर उनले मानिनन् ।
सनिसाकुमारी गर्भवती बनेपछि तनावमा रहेका शिवजीकी आमा झुलफूल देवी र बाबु परमेश्वरको यातना र अमानवीय व्यवहारका कारण उनको पेटको बच्चा त खेर गयो नै, उनको अवस्था पनि चिन्ताजनक छ ।
खासमा, सनिसाकुमारीले गर्भ फाल्न अस्वीकार गरेपछि शिवजीका आमाबुबाले कुटपिट गर्दै उनलाई जबर्जस्ती विषादी खुवाएका थिए । सोही विषादीको असरका कारण उनको पेटको बच्चा खेर गएको हो ।
जबर्जस्ती छोरीलाई विषादी खुवाएपछि उनको ४ महिनाको गर्भ खेर गएको र छोरीको अवस्थासमेत चिन्ताजनक रहेको सनिसाकुमारीकी आमा सतनी देवीले सुनाइन् ।
यसअघि विवाहको प्रलोभन देखाई आफूसँग पटकपटक शारीरिक सम्बन्ध स्थापित गरेका शिवजी हाल फरार भएको भन्दै सनिसाले प्रहरीमा निवेदनसमेत दिएकी थिइन्् ।
गाउँघरमा भएको पञ्चायतीको निर्णयसमेत पालना नगरी शिवजी फरार भएपछि सनिसाकुमारी न्यायका लागि सदरमुकाम राजविराज धाउँदै गरेकी थिइन् ।
हाल १२ कक्षा उत्तीर्ण गरेकी सनिसा १० कक्षामै पढ्दै गरेका बेला शिवजीसँग प्रेम सम्बन्धमा जोडिन पुगेको उनले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । प्रहरीमा उजुरी परेपछि स्थानीय गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा ४ महिनाको गर्भ रहेको रिपोर्टले समेत देखाएको थियो ।
१४ वैशाख २०८२ मा उनी २० वर्ष पार गरी २१औं वर्षमा प्रवेश गरेकी छन् । कानुनी व्यवस्थाअनुसार उनको विवाह गर्ने उमेर पनि पुगिसकेको छ । घटना सार्वजनिक भएर चर्किंदै गएपछि गाउँमा गत १२ चैत २०८१ मा पञ्चायतीसमेत बसेको थियो । जसमा दुवै पक्षका अभिभावक, भद्रभलाद्मी र प्रहरीको उपस्थितिमा शिवजीले सनिसाको उमेर पुगेपछि विवाह गर्ने लिखित कबुल गरेका थिए । तर, अहिले आएर शिवजीले बोली फेरेको र छाडेर भागेको सनिसाको दुःखेसो छ ।
शिवजीले विवाह गर्न अस्वीकार गरेपछि र उनका अभिभावकले पनि घरमा राख्न इन्कार गरेपछि उनी प्रहरीको सहयोगमा शिवजीको घरमा बसिरहेका बेला यस्तो घटना भएको उनको भनाइ छ ।
‘निदाइरहेका बेला बुधबार बिहान ४ बजेतिर अचानक आइपुगेका प्रेमी शिवजीका आमाबुबाले हातखुट्टा, घाँटी समाती लछारपछार गर्दै जबर्जस्ती चार–पाँचवटा ट्याब्लेट मुखमा कोचे,’ स्थानीय गजेन्द्रनारायण सिंह अस्पतालको बेड नं २६ मा उपचार गराइरहेकी सनिसाले भनिन्, ‘त्यसपछि म बेहोस भएँ ।’
प्रहरीको सहयोगमा अस्पताल आइपुगेकी सनिसाको स्वास्थ्य परीक्षण गर्दा गर्भमा रहेको बच्चा खेर गएको र विषादीको प्रभावले त्यस्तो हुन गएको चिकित्सकहरूले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले सो अपराधका आरोपी परमेश्वर खंग र झुलफूल देवीलाई बुधबार नै पक्राउ गरिएको जानकारी दिए । उनले पक्राउ परेका खंग दम्पतीमाथि कुटपिट तथा भु्रण हत्यासम्बन्धी मुद्दा चलाइने जनाएका छन् । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।