धनगढीः  नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. विश्वनाथ पौडेलले बैङ्क तथा वित्तीय संस्था र व्यवसायीबिचको सम्बन्ध सुधारमा जोड दिएका छन् । नेपाल राष्ट्र बैङ्क धनगढी कार्यालयले सोमबार धनगढीमा आयोजना गरेको उद्योगी, बैङ्क तथा वित्तीय संस्था र ऋणीसँगको छलफल कार्यक्रममा सहभागी गभर्नर पौडेलले आर्थिक गतिविधि चलायमान बनाउन र समस्याको समाधान गर्न बैङ्क तथा वित्तीय संस्था र व्यवसायीबिचको सम्बन्ध सुधारमा जोड दिएका हुन् । 

ऋणीप्रति बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीको व्यवहार सुमधुर नभएको गुनासो सुन्दै आएको बताउँदै गभर्नर पौडेलले त्यस्तो व्यवहार परिवर्तन गर्न सुझाव दिए । “ऋणीलाई गाली गर्ने, धम्काउने तथा विभिन्न प्रकारका डर देखाउने कार्य कदापि नगर्नुहोस्,” पौडेलले भने । 

कोभिडपछि अर्थतन्त्रमा केही समस्या देखा परेको भन्दै उनले आगामी मौद्रिक नीतिमार्फत सुधारको प्रयास गरिने जानकारी दिए । जनताको सल्लाह र समस्याका आधारमा आफूले मौद्रिक नीति बनाउने उनको भनाइ छ । 

जनताका समस्याका आधारमा नीति बनाउने उद्देश्यसहित मध्यपहाडी लोकमार्ग हुँदै सरोकारवालाको गुनासो सुन्न गभर्नर पौडेल धनगढी आएका हुन् । “सरोकारवालका गुनासाका आधारमा आगामी मौद्रिक नीति बनाउँछु,” उनले भने ।

Asset 5@300x-100

नेपाल–भारतको सीमाक्षेत्र र पहाडी जिल्लामा धितो मूल्याङ्कन नगर्ने र गरे पनि न्यून हुने भन्ने गुनासो आफूले पाएको भन्दै यसलाई विज्ञसँग छलफल गरेर सुधार गर्ने प्रतिबद्धता उनले जनाए ।

उनले सबै खाले व्यवसायी, लगानीकर्ता, बैङ्क तथा वित्तीय क्षेत्रका समस्या समाधानमा आफू क्रियाशील रहने बताए । कार्यक्रममा सहभागीले बैङ्क तथा वित्तीय संस्थाले पहुँचका आधारमा ऋण लगानी गर्ने, चर्को ब्याज, स्टार्टअप कर्जा, बैङ्क व्यवहार राम्रो नभएको, कृषि कर्जामा समस्या भएकोलगायतमा समस्या औँल्याएका थिए ।

सहभागीका जिज्ञासाको जवाफ दिँदै नेपाल राष्ट्र बैङ्कका बैङ्क तथा वित्तीय संस्था नियमन विभागका निर्देशक गुरुप्रसाद पौडेलले सरोकारवालाका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।