इटहरीः सुनसरीकोधरान–१६ बाट प्रतिबन्धित लागू औषधसहित एक जना पक्राउ परेका छन् भने लागू औषध कारोबारमा संलग्न चार जना झापा र सुनसरी जिल्लाबाट नियन्त्रणमा लिइएका छन्।

सुनसरीको धरान–१६ का ३० वर्षीय गोपाल राईलाई अस्थायी प्रहरी पोष्ट जोरसखुवा, धरानले ५६९ चक्की प्रतिबन्धित लागू औषध र नगद ३७ हजार रुपैयाँसहित नियन्त्रणमा लिएको हो।

यस्तै, लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टा र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त टोलीले झापाको मेचीनगर–६ स्थित मेची पुलबाट हेटौंडा उपमहानगरपालिका–३ का २१ वर्षीय डेविड लामा र बिर्तामोड–२ का २९ वर्षीय संजय चौधरीलाई ब्राउन सुगरसहित पक्राउ गरेको छ।

लामा २ ग्राम र चौधरी ३ ग्राम ब्राउन सुगरसहित पक्राउ परेको प्रहरीले जनाएको छ।

त्यसैगरी, झापाकै गौरादह नगरपालिका–१ का २९ वर्षीय सुजन कन्दङ्वालाई १ ग्राम ब्राउन सुगरसहित इलाका प्रहरी कार्यालय गौरादहले पक्राउ गरेको छ।

पक्राउ परेकाहरूमाथि लागू औषधसम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।