इटहरीः विद्यालयको खानेपानी आपूर्ति र पुस्तकालय व्यवस्थापनका लागि कोशी प्रदेशबाट दुई आर्थिक बर्षमा विनियोजित भएको रकममा भ्रष्टाचार गरेको आरोपमा संखुवासभाको धर्मदेवी नगरपालिका वडा नं. ४ हुम्लिङ्गमा रहेको शारदा माध्यमिक विद्यालयका तत्कालिन प्रधानध्यापक ,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहित ४ जना विरुद्ध अख्तियारले मुद्धा दायर गरेको छ । 

लामो अनुसन्धानपछि अख्तियारले बुधबार बिषेश आदलत काठमाडौंमा उनीहरु विरुद्ध भ्रष्टाचार आरोपमा मुद्धा दर्ता गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् । 

घिमिरेका अनुसार सो विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक र कर्मचारीहरुका लागि  खानेपानी आपूर्तिको लागि प्रदेश नं. १ बाट आ.ब. २०७५/०७६ मा विनियोजित भएको रकम र पुस्तकालय व्यवस्थापनको लागि आ.ब. २०७४/०७५ मा जिल्ला शिक्षा कार्यालयबाट निकासा भएको रकमबाट कुनै पनि कामको शुरुवात नै नगरी बिल भरपाई मिलाई भ्रष्टाचार गरेको उजुरीका आधारमा उनीहरु विरुद्ध अनुसन्धान थालिएको थियो ।

धर्मदेवी नगरपालिका वडा नं. ४ मा रहेको  शारदा माध्यमिक विद्यालयलाई आ.ब. २०७४/०७५ मा पुस्तकालय व्यवस्थापनको लागि शिक्षा विभागबाट अनुदान स्वरुप जिल्ला शिक्षा कार्यालयको निर्णय बमोजिम शिक्षा विकास तथा समन्वय इकाईमार्फत विद्यालयको खातामा जम्मा भएको रकमबाट विद्यालयका तत्कालीन प्रधानाध्यापक कृष्णहरी भट्टराई र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल कुमार अधिकारीले शाक्य अफसेट प्रेसका प्रोप्राइटर केशब कुमार शाक्यसँग मिलेमतो गरी उल्लिखित पुस्तकहरु खरिद नै नगरी पुस्तक खरिद गरेको भनी झुट्टा बिल भरपाई बनाईको पाइएको थियो ।  सो कार्यको सम्झौता हुनु अगाडि नै विद्यालयमा खरिद भएको ल्याप्टपको बिलसमेत संलग्न राखी पुस्तकालय व्यवस्थापनको लागि अनुदान स्वरुप प्राप्त सरकारी रकम हिनामिना गरेको प्रवक्ता घिमिरेले बताए ।  

57db2d07-9fda-4945-bcbb-3d4ba59ab54a

 सोही विद्यालयलाई आ.ब. २०७५/०७६ मा प्रदेश नं. १ सामाजिक सुरक्षा मन्त्रालयबाट शिक्षा विकास तथा समन्वय इकाईमार्फत खानेपानी व्यवस्थापनको लागि निकासा भएको रकमसमेत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल कुमार अधिकारीले सम्झौता गरी बजेट निकासा गराई विद्यालयलाई खानेपानी उपलब्ध गराउने सम्बन्धी कुनै पनि काम नै नगरी चेकमा अघिल्लो कार्यकालका प्रधानाध्यापक कृष्णहरी भट्टराई र शिक्षक लालबाबु मण्डलको दस्तखत गराई सोही चेकबाट उक्त खानेपानी व्यवस्थापनको लागि निकासा भएको रकमसमेत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल कुमार अधिकारीले निकाली सरकारी रकम हिनामिना गरेको पुष्टि हुन आएको प्रवक्ता घिमिरे जानकारी दिए । सो विद्यालयका तत्कालीन प्रधानाध्यापक कृष्णहरी भट्टराई, शिक्षक लालबाबु मण्डल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल कुमार अधिकारी र शाक्य अफसेट प्रेसका प्रोप्राइटर केशब कुमार शाक्य उपर बिगो दावी माग सहित विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरिएको प्रवक्ता घिमिरेले जानकारी दिए ।

उनका अनुसार शारदा माध्यमिक विद्यालय हुम्लिङ्गका तत्कालीन प्रधानाध्यापक कृष्णहरी भट्टराईसँग ४ लाख ६० हजार ४ सय ५५ रुपियाँ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल कुमार अधिकारीसँग ३ लाख ४३ हजार बिगो रकम माग सहित कानूनी कार्वाही गर्न पर्ने मुद्धामा उल्लेख गरिएको छ ।

01e0e945-37c4-4465-b124-f1cae3c595dd

उनीहरुले आ.व. २०७४/०७५ मा पुस्तकालय व्यवस्थापनको लागि अनुदान स्वरुप प्राप्त भएको रकम हिनामिना गरेकाले  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) बमोजिमको कसुरमा ऐ.ऐ. ऐनको दफा ८ को उपदफा (१) बमोजिमको कैद तथा बिगो बमोजिमको जरिवाना गरी उक्त बिगो असुल उपर हुन माग दावी लिइएको प्रवक्ता घिमिरेले बताए ।

त्यसैगरि सामाजिक विकास मन्त्रालयबाट खानेपानी व्यवस्थापनको लागि आ.व. २०७५÷०७६ मा निकासा भएको बजेट हानीनोक्सानी गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा ऐ. ऐनको दफा १७ ले निर्देशित गरेबमोजिम ऐ.ऐ. ऐनको दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम कैद र ऐ.ऐ. ऐनको दफा ३(१) अनुसार बिगो ३ लाख ४३ हजार बमोजिम जरिवाना गरी ऐ.ऐनको दफा १७ बमोजिम हिनामिना गरेको रकम असुल उपरका लागि अख्तियारले मुद्धामा माग दावी गरेको छ ।

d5da4fb7-e146-40bb-a8f6-c8a020267a3f 

दुबै अनियमित कार्यमा संलग्न सोही विद्यालयका  तत्कालीन शिक्षक लालबाबु मण्डललाई पनि ३ लाख ४३ हजार बिगो माग दावी गरिएको छ ।  

खानेपानी आपूर्ति र पुस्ताकालय व्यवस्थापनमा भएको अनियमित कार्यमा सामान नै खरिद नगरि बिल भरपाई बनाईदिने  शाक्य अफसेट प्रेस चैनपुर संखुवासभाका प्रोप्राइटर केशब कुमार शाक्यसँग पनि अख्तियारले ४ लाख १० हजार ४सय ५५ रुपियाँ बिगो माग सहित कैद र जरिवाना सहित कार्वाहीको माग गरिएको प्रवक्ता नरहरि घिमिरेले बताए ।