बर्दियाः बर्दियाको बारबर्दिया नगरपालिका –७ मा रहेको श्री जनता माध्यमिक विद्यालय रम्भापुरमा विद्यार्थीहरूले दुना टपरी बनाउन सिक्न थालेका छन् । गाउँघरमा बिस्तारै प्रचलनबाट हराउन लागेको दुना टपरी विद्यार्थीलाई गाँस्न सिकाउन थालिएको हो ।

विद्यार्थीहरूले शुक्रवारको अतिरिक्त क्रियाकलापमा नजिकैको बनबाट खेर गएका सालका पात ल्याएर दुना टपरी गाँस्न सुरु गरेका छन् । सीप नभएका विद्यार्थीहरूलाई सिकाउने र जान्ने विद्यार्थीबाट दुना टपरी बनाउन लागिएको विद्यालयले जनाएको छ । छात्र र छात्राहरूलाई सँगै राखेर दुना टपरी गाँस्दा नयाँ किसिमको सिकाई भएका यहाँका शिक्षकहरू बताउछन् ।

विद्यालयमा दुना टपरी गाँस्ने क्रियाकलाप पहिलो पटक गरिएकाले यहाँका विद्यार्थीहरू अत्यन्त उत्सुक देखिएका छन् । विद्यार्थीहरूले आफूहरूले गाँसेको दुना टपरी गाउँमा लगेर बेच्ने योजना बनाएका छन् । पछिल्लो समयमा प्रयोग हुँदै आएको फाइबर र प्लाष्टिकका थाल र प्लेटहरू विस्थापित गर्ने उनीहरूको योजना छ ।

ph-1-1536x1152

पहिलो चोटि दुना टपरी गाँस्ने क्रियाकलापमा करिब दुई सय ५० जना विद्यार्थीहरूलाई सहभागी गराइएको थियो । विद्यार्थीहरूले पहिलो दिन नै दुई सय काम लाग्ने दुना टपरी बनाएको विद्यालयका शिक्षिका तारा ढकालले बताइन।

परम्परागत ज्ञान सीप पनि सिकाउने र उनीहरूले उत्पादन गरेका सामानहरू संकलन गरेर विक्री वितरण गरी दिने योजना रहेको विद्यालयका प्रधानाध्यापक रामप्रसाद ढकालले बताए । “कतिपय विद्यार्थीहरूले परम्परागत सीप नै बिर्सिसकेका छन् ।”, उनले भने, “छात्राहरूलाई दुना टपरी बनाउन सिकाउने, छात्रहरूलाई बाबियोको रसी दाम्लो बाँसका सामान बनाउन सिकाउने विद्यालयको योजना छ ।”

उनले विद्यार्थीले सीप सिकेपछि भएको उत्पादनलाई बिक्री गरी हुने आम्दानी उनीहरूकै लागि खर्च गर्ने योजना रहेको बताए । आगामी दिनमा अरू परम्परागत सीप र क्षमता अभिवृद्धिका लागि नयाँ नयाँ क्रियाकलाप गर्ने योजना रहेको उनले बताए।

बारबर्दिया नगरपालिकाका शिक्षा शाखा प्रमुख टिकानाथ गोसाईंले विद्यालयलाई किताबी ज्ञान मात्र नभएर व्यावहारिक ज्ञान सिकाउनका लागि आग्रह गरिएको बताए । “हरेक विद्यालयलाई परम्परागत सीप ज्ञानको पनि सम्बद्र्धन गर्नका लागि विभिन्न क्रियाकलाप गर्न लगाइएको छ ।”, उनले भने ।