इलामः इलाम – २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएका छन् । नेम्वाङ २७ हजार ७७२ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत प्राप्त गरे।

प्रतिनिधिसभा सदस्यका लागि खड्काको इलाम–२ मा यो दोस्रो पटकको पराजय हो । यस अघि स्वर्गीय सुवासचन्द्र नेम्वाङ सँग पनि खड्का ११४ मतले पराजित भएका थिए ।

सुहाङसंगै चुनावी मैदानमा रहेका  स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमको तेस्रो मत अर्थात् ११ हजार ४५७ मत पाएका छन् । यस्तै रास्वपाका मिलन लिम्बु योङहाङले ५ हजार ५० मत ल्याएर चौथो भएका छन् ।मङ्गोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बूले आठ सय १६ मत प्राप्त गरेका छन् ।

नेकपा एमाले उपाध्यक्ष सांसद संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि इलाम–२ मा उपनिर्वाचन भएको हो। यहाँ एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । यो निर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा थिए ।