जनकपुरः धनुषामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् र देवर पक्राउ परेका छन्। सात महिनाअघि श्रीमतीलाई हत्या गरि फरार रहेका श्रीमान् र देवरलाई धनुषा प्रहरीले शनिबार पक्राउ गरेको हो।

सहिदनगर नगरपालिका ७ नेमुवाटोलकी ५० वर्षीया रेखा देवी ठाकुरको हत्या आरोपमा प्रहरीले उनका श्रीमान् ५५ वर्षीय सुदिप ठाकुर र ४० वर्षीय भाइ उदित ठाकुरलाई पक्राउ गरिएको धनुषा प्रहरी प्रवक्ता एवम् डिएसपी रंञ्जन अवाले जानकारी दिए।

उनका अनुसार गत कात्तिक १० गते दाजुभाइ मिलेर रेखालाई हत्या गरी घरैमा खाल्डो खन्नी शव लुकाएर फरार भएका थिए। हत्यापछि उनीहरू भारतमा लुकीछिपी बस्दै आएका थिए। केही दिनअघि भारतबाट आएपछि घरको खाल्डोबाट शव निकालेर घरभन्दा पर रहेको नदी किनारको झाडीमा गाडेका थिए।

प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर शवको बारेमा सोधपुछ गर्दा नदीमा गाडेको बताएपछि इलाका प्रहरी कार्यालय यदुकूहाका प्रहरी निरीक्षक चन्द्रकिशोर साह नेतृत्वमा खटिएको प्रहरी टोली आइतबार नदीबाट रेखाको कंकाल फेला परेको छ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालयमा राखी घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ। यो खबर नागरिक दैनिकबाट लिइएको हो ।