खोटाङः  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ११ खार्मीस्थित निभारेका ३१ वर्षीय धनजित राईलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा तीन युवा पक्राउ परेका छन् । यही वैशाख १ गते राति करिब ८ बजे स्थानीय भीमबहादुर बस्नेतको मकैबारीमा छुरा प्रहार गरी धनजितको हत्या गरेर फरार भएको आरोपमा सोही ठाउँका २२ वर्षीय विकास राई, १८ वर्षीय आसन राई र २८ वर्षीय गणेश राईलाई प्रहरीले पक्राउ गरेको हो । 

हत्या गरी फरार उनीहरूलाई सोही नगरपालिकाको वडा नम्बर १० पाथेकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए । “धनजितको हत्यापछि फरार भएका उनीहरू तीनैजनालाई पाथेकास्थित भुसुन्दाका धनपति राईको घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको छ । उनीहरुविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेर कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ”, उनले भने ।

उनीहरूले धनजितको हत्या के कारणले गरेका हुन् भन्ने अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार उनीहरू तीनै जनाले धनजितको हत्या आफूहरूले नै गरेको स्वीकार गरिसकेका छन् । धनजितको हत्यापछि भागेर भुसुन्दा पुगेका उनीहरू मावली घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रनाउ खड्काले जानकारी दिए। घटना भएको तीन दिनपछि पक्राउ परेका तीनैजनालाई थप अनुसन्धानका लागि जिल्ला अदालत खोटाङमा हाजिर गराएर म्याद थप गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ । 

साँझको समयमा भएको घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी निरीक्षक तथा प्रहरीचौकी जालपा र प्रहरीचौकी तालखर्कबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा प्रहरीको टोली घटनास्थलमा खटिएका थिए । धनजितको हत्यापछि राति नै भागेका उनीहरू तीनैजनालाई एउटै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मादक पदार्थ सेवन गरेका तीन युवाले भीमबहादुरलाई घरैमा गएर कुटपिट गर्न थालेपछि गुहार दिन जाँदा धनजितमाथि आक्रमण भएको स्थानीय बासिन्दाले बताएका छन् । छुरा प्रहारबाट घाइते बनेका धनजितले आफू घाइते भएपछि घटनास्थलबाट साहिला भाइलाई साँझ साढे सात बजे फोन सम्पर्क गरेको बताइएको छ ।

भाइसँगको फोन सम्पर्कपछि खोज्दै जाँदा धनजितलाई मकैबारीमा मृत फेला पारिएको स्थानीय उमेश राईले जानकारी दिनुभयो । मृतक धनजितको शव सोही राति जिल्ला अस्पताल खोटाङमा ल्याएर आइतबार परीक्षण गरेपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । मृतक धनजित र भीमबहादुर गाउँमासँगै मिलेर मिस्तिरी (घर बनाउने काम)गर्दै आएका थिए । तीन युवाको आक्रमणमा परेका भीमबहादुर र उनकी श्रीमती अप्सरा भनिने प्रेमकुमारी पौडेल (बस्नेत) सामान्य घाइते भएकी छन् ।विकास र आसन गत वैशाख ३ गते अभद्र व्यवहार मुद्दामा पक्राउ परेर तारिख छुटेका थिए । अर्का आरोपित गणेश चोरी मुद्दामा कारागार बसेर छुटेका थिए । रासस