पोखराः नेपाली नयाँ वर्षको अवसरमा पोखरामा हुने फेवा नव बर्ष महोत्सव २०८१ मा पर्यटनको राजधानी पोखरामा आउने पर्यटकलाई १० देखि ५० प्रतिशत विशेष छुट सहितको प्याकेज कार्यक्रम हुने भएको छ ।

होटल संघ पोखरा नेपालले यही चैत २९ गतेदेखि आगामी वैशाख १ गते सम्म पोखरामा आयोजना गर्न लागेको १९ औँ संस्करणको फेवा नव बर्ष महोत्सव लक्षित गरी पोखरा आउने स्वदेशी तथा विदेशी पर्यटकहरूलाई विभिन्न पर्यटकीय गतिविधिमा १० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था हुने भएको हो । 

होटलको आवास देखि रेस्टुरेन्ट, सहासिक खेल गतिविधि लगायतका पर्यटकीय गतिविधिमा विशेष छुट सहितको प्याकेज ल्याउने तयारी गरिएको संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले बताए।

महोत्सवका अवसरमा पोखराका विभिन्न पर्यटकीय सङ्घसंस्थाका तर्फबाट भारि छुट प्रदान गरिएको स्मरण गराउँदै अध्यक्ष सुवेदीले यस बर्ष पनि त्यसलाई निरन्तरता दिने जनाए । यस वर्षको फेवा नव बर्ष महोत्सवमा पर्यटनको राजधानी पोखराको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्न विभिन्न सङ्घसंस्थाले सोमबार भएको छलफलमा सुझाव दिएका छन् । 

पोखराको फिस्टेल गेटदेखि हल्लनचोकसम्म आयोजना हुने महोत्सवमा नेपाली मौलिक संस्कृतिको संरक्षण गर्दै पछिल्लो पुस्ताको इच्छा र रुचि समेतलाई ख्याल गरी कार्यक्रमहरू पस्कने तयारी भइरहेको उनको भनाई छ ।

महोत्सवमा पर्यटक दौड, ढुङ्गा दौड, सांस्कृतिक कार्यक्रम, पंचैबाजा, नाचगानका कार्यक्रम, दोहोरी र कन्सर्ट लगायतका कार्यक्रम समेटिने अध्यक्ष सुवेदीले बताए । यसपटकको महोत्सवमा ड्याम साइड क्षेत्रमा समेत विविध गतिविधि सञ्चालन गरिने सङ्घले जनाएको छ । स्टेज नै निर्माण गरी ड्याम साइडमा मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिने अध्यक्ष सुवेदीले बताए ।