नेपालगञ्जः बाँकेमा पाटे बाघको छालासहित एक जना पक्राउ परेका छन् । नेपालगञ्जको पुष्पलाल चोकस्थित रोयल महाबुब होटलबाट पाटे बाघको छालासहित सुर्खेत बराहताल गाउँपालिका वडा नम्बर २ पाक्माका २८ बर्षीय चन्द्रबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

होटलमा दुर्लभ पाटेबाघको छालाको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा उक्त होटलको १०१ नम्बर कोठा भाडामा लिई बसेका कार्कीले हरियो कालो रङको झोलामा लुकाइछिपाई राखेको अवस्थामा पाटे बाघको छाला फेला पारी उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । 

पाटे बाघको छालाको लम्बाई ५ फिट ९ इन्च र चौडाई ३ फिट २ इन्च रहेको प्रहरी नायब उपरीक्षक डाँगीले बताए। बाघको छालासहित कार्कीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवं कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।