काठमाडौँः सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका मेडिकल व्यवसायी अभियान्ता दुर्गा प्रसाईका दुई जना अंगरक्षकलाई पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।

सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियार  एसएल आर २२बोरसहित पक्राउ परेका झापाको बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्का र अर्का व्यक्ति रामकुमार धिमाललाई जिल्ला अदालत काठमाडौँले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले  जानकारी दिए ।

उनले भने, “सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका खड्का र धिमाललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति प्राप्त भएको छ, उनीहरूमाथि हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ ।” रासस