काठमाडौंः  काभ्रेपलाञ्चोक जिल्ला, महाभारत गाउँपालिका–४ सिमल्टारका सुनिल लामा गत ११ फेब्रुअरीमा सडक दुर्घटनामा परे । मलेसियाको जेरनटुट, पहास्थित इकोन सेभ क्यास एन्ड क्यारी कम्पनीमा कार्यरत रहेको र बिदाको दिन बाहिर निस्किएका थिए ।

त्यस क्रममा सडक दुर्घटनामा परेर दाहिने हात गुमाए । हाल उनी मलेसियाको सुल्तान हाजी हस्पिटलमा उपचार गरिरहेका छन् । तर, दुर्घटनामा परेर हात गुमाएपछि अस्पताल भर्ना भएका उनलाई कम्पनीले उपचार नगर्ने भयो ।

कम्पनीभन्दा बाहिर भएको घटना भनेर उनी कार्यरत कम्पनीले बिमासमेत दाबी नगरिदिँदा उनको उपचारमा समस्या भएको भन्दै आर्थिक सहयोगको अपिल गरिएको छ । उनको उपचारका लागि ठूलो धनराशि खर्च हुने र उपचारमा सहयोग गरिदिन देशविदेशमा रहने सबैमा अनुरोध गरेका छन् ।

यस्तै, मलेसियामा प्यारालाइसिस रोगले थालिएका रोल्पाका मनोज रानाले पनि आर्थिक सहयोग गरी आफूलाई नेपाल फर्काउन अनुरोध गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो सन्देश जारी गर्दै रानाले आफू अहिले मलेसियामा प्यारालाइसिस भएर हात खुट्टा नचल्ने र मुखको पनि समस्या रहेको र शरीरको आधा भाग पूरै प्यारालाइसिस भएको भन्दै आर्थिक सहयोगको अपिल गरेका छन् ।

आफू कार्यरत कम्पनीले पनि कुनै वास्ता नगरेको उनले बताएका छन् । कम्पनीलाई घर पठाउभन्दा ५ हजार रिंगेट दिए मात्र पठाउने भनेको तर आफूसँग पाँच रिंगेट पनि नरहेको उनले बताए । कम्पनी र नेपाली दूतावासले वास्ता नगर्दा उपचार हुन नसकेको र घर फर्कन पनि आर्थिक अभाव भएकाले सबैले सहयोग गरिदिन अनुरोध गरेका छन् ।

मलेसियाका कतिपय रोजगारदाता कम्पनीहरूले ड्युटीको समय वा बिदाको दिनमा घुम्न बाहिर निस्किएर कुनै दुर्घटनामा परे उपचार नगर्ने गरेको कारण त्यहाँ कार्यरत धेरै नेपालीहरूले कम्पनीले उपचार नगरेको भन्दै आर्थिक सहयोग माग्ने गरेका छन् ।

मलेसियामा एक नेपाली बेपत्ता

रोजगारीका लागि मलेसिया पुगेका एक नेपाली बेपत्ता भएका छन् । त्रिपुरासुन्दरी गाउँपालिका–७ खैरेनी धादिङ निवासी गोपीप्रसाद पाण्डेको छोरा विनोदराज पाण्डे बेपत्ता भएका छन् । २०६२ सालमा मलेसियाको ‘गेदरउड इन्डस्ट्रिज’ कम्पनीमा गएका थिए ।

उनी यहाँ लामो समयदेखि सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको भन्दै त्यहाँस्थित नेपाली दूतावासले खोजी गरिदिन अनुरोध गरेको छ । उनलाई कसैले देखेमा वा भेटेमा दूतावासको सम्पर्क नम्बर ०१६२४७२७७७ वा मलेसियाको सम्पर्क व्यक्ति चोलाकान्त पंगेनीको सम्पर्क नम्बर ०१६२४४१४१५ मा सम्पर्क गरी जानकारी गराइदिन दूतावास अनुरोध गरेको छ ।

पछिल्लो समय वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका सयौं नेपाली कामदार बेपत्ता हुने क्रम बढेको छ । दूतावासले हरेक हप्ताजस्तै मलेसियामा नेपाली कामदार बेपत्ता भएको भन्दै खोजी गर्न त्यहाँ रहेका विभिन्न नेपाली संघ संस्थालाई आग्रह गर्ने गरेको छ ।

मलेसिया पुगेपछि आफ्नो भिसा लागेको कम्पनी छाडेर अन्यत्र जाने, अवैध बसाइँ, व्यवहारजन्य समस्यालगायत कारण नेपाली जेल पर्ने गरेको त्यस्ता नेपाली परिवारको सम्पर्कमा आउन नसक्ने भएकाले पनि खोजी गरिदिन कल आउने गरेको दूतावासले जनाएको छ ।

मलेसिया पुगेर विभिन्न मुद्दामा जेल पर्नु, प्रेम सम्बन्ध, पारिवारिक मनमुटाव, रोजगारीकै क्रममा विदेशमा मृत्यु, दुर्घटनामा पर्नु, घरेलु कामदारको हकमा रोजगारदाताले बन्दी बनाउनु, व्यक्तिगत चाहनालगायत कारणबाट मलेसिया नेपाली कामदार हराएका हुन् । परिवारको सम्पर्कबाहिर रहेका आप्रवासी नेपाली कामदारको अवस्था पत्ता लगाउन सम्बन्धित मुलुकमा रहेको सरकारी तथा गैरसरकारी संस्थासँग समन्वय हुने गरेको भए पनि प्रभावकारी हुन नसकेको सरोकारवाला बताउँछन् ।

वैदेशिक रोजगारीमा रहेर परिवारको सम्पर्कबाहिर पुगेको आप्रवासी कामदारलाई गन्तव्य मुलुकमा रहेको नेपाली दूतावास, कन्सुल सेवा विभागमार्फत खोजीकार्य हुने गरेको छ । विदेशी भूमिमा हराइरहेको कामदार बारे पर्याप्त विवरण नहुँदा खोजी कार्यमा चुनौती हुने गरेको छ । यस्तै, कतिपय कामदार स्वेच्छाले सम्पर्कमा आउन नचाहँदा पनि खोजीकार्य गर्न अप्ठ्यारो हुने गरेको दूतावासको भनाइ छ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।