काठमाडौंः धरहराको पार्किङ खुला भएको करिब एक हप्तापछि शहरी विकास मन्त्रालयले काठमाडौं महानगरपालिकालाई पत्र लेख्दै धरहराको पार्किङ जोखिमपूर्ण भएको भन्दै स्थगित गर्न भनेपछि मेयर बालेन शाह आक्रोशित भएका छन्  । 

मन्त्रालयको पत्रपछि आक्रोशित भएका मेयरले आफ्नो फेसबुक पेंजमा लामो स्टाटस लेख्दै धरहराको पार्किङ खुला नै रहने जनाएका छन् । उनले फेसबुकमा पो्ष्ट गरेको स्टाटस जस्ताको त्यस्तैः 

२०७८ वैशाख ११ शनिबार अर्थात आज भन्दा २ बर्ष ९ महिना २० दिन अगाडि तत्कालिन प्रधानमन्त्री केपी ओलीबाट " सेतो टावर " उदघाटन भयो । सोही उदघाटनलाई काठमाण्डौँका तत्कालिन मेयर बिद्यासुन्दर शाक्यले भन्नु भएको थियो, "आज एक ऐतिहासिक काम सम्पन्न भएको छ , राणाकालिन अवस्थामा भएको भए केपि ओलि टावर भन्थे " ।
तर केहिदिन अगाडि त्यहि ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ, 'धरहरा निर्माण हुदैछ । पार्किङ बन्द गर्नु ।'
उदघाटन गरेको २ बर्ष ९ महिना पछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ? पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नु भन्दा तत्कालीन प्रधानमन्त्री केपि ओलिले भन्नू भएको थियो 'नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ' भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ ।
तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभइ उदघाटन हुने जस्ता प्रवृतिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाऔँ । संघीय र प्रदेश संसद तथा संघीय र प्रदेश सरकारले त्यस्तो नीति पारित गर्न जरूरी छ । निर्माण सम्पन्न नभइ उदघाटन गर्ने कुप्रवृतिलाई निरूत्साहित गरौँ ।
सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र शहरको व्यवस्थापनमा प्रभाव पार्ने यस्ता कुराहरूसँग ख्याल ठट्टा नगरौँ ।
अन्त्यमा सो स्थानमा पार्किङ बन्द छैन र बन्द हुने छैन महानगरको पहलमा अहिलेको लागि निसुल्क सन्चालन हुँदै छ , अझै ब्यबस्थापन गर्दै लग्नेछौ ।अहिले धेरैको नजर यहाँ को पार्किङ को ठेक्का लिएर नेपाल सरकारको सम्पत्ति माथी रजाइ गर्ने मनसाय देखिएको छ । हामी काठमाडौ महानगरमा रहुन्जेल कसैको निजि स्वार्थको लागि सार्वजनिक सम्पती प्रयोग हुन दिने छैनौ ।