इनरुवाः  सुनसरीमा महिला हिंसाको घटना बढ्दो क्रममा रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार महिला हिंसाको घटना बढ्दो क्रममा रहेको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

जिल्लामा चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ५४ वटा जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता भएको उनको भनाइ थियो । आर्थिक वर्ष २०७८/७९ मा जबरजस्ती करणीसम्बन्धी एक सय वटा मुद्दा दर्ता भएकामा २०७९/८० मा १०६ वटा मुद्दा दर्ता भएको थियो । जबरजस्ती करणी उद्योगमा आव २०७८/७९ मा ३० वटा र ०७९ /८० मा १६ वटा मुद्दा दर्ता भएको थियो भने चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा आठ वटा मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

मानव बेचबिखन शीर्षकमा आव २०७८ ७९ मा आठ वटा र ०७९ ८० मा एउटा मुद्दा दर्ता भएको थियो भने चालु आवको पुससम्ममा एउटा मात्र मुद्दा दर्ता भएको छ । त्यसैगरी अपहरण तथा शरीर बन्धक शीर्षकमा आव २०७८र७९ मा चार वटा र ०७९८० मा दुई वटा मुद्दा दर्ता भएको थियो भने चालु आवको पुस सम्ममा दुई वटा मात्र मुद्दा दर्ता भएको छ । 

त्यसैगरी ‘बाल बिज्याँई’ शीर्षकमा आव २०७८/७९ मा एउटा र ०७९/८० मा एउटा मुद्दा दर्ता भएकामा चालु आवको पुस महिनासम्म एउटा पनि मुद्दा दर्ता नभएको प्रहरीले जनएको छ । त्यसैगरी बोक्सीको अरोपमा आव २०७९/८० मा एउटा र चालु आवको पुससम्ममा एउटा मुद्दा दर्ता भएको थियो ।   

बालयौन दुरुपयोग शीर्षकमा आव २०७८/७९ मा १५ वटा र ०७९/८० मा १४ वटा मुद्दा दर्ता भएकामा चालु आवको गत पुस सम्ममा पाँच वटा मात्र मुद्दा दर्ता भएको थियो । त्यसैगरी बहुविवाह शीर्षकमा आव २०७८/७९ मा ३६ वटा र ०७९/८० मा २६ वटा मुद्दा दर्ता भएको थियो भने चालु आवको पुससम्ममा १९ वटा मात्र मुद्दा दर्ता भएको प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए । 

समाजमा महिलाका लागि आधारभूत तथा उच्च शिक्षामा कम लगानी, विविधताको पहिचान र सम्मान नहुनु, तेस्रो लिङ्गिको सवाल, फितलो समावेशिताको नीति, लैङ्गिक असमानता, विद्यमान नीति कार्यान्वयनमा ढिलाइ, बढ्दो परनिर्भरता, बेरोजगारी, कुसंस्कार, सामाजिक सञ्जालको दुरुपयोग, लक्षित वर्गको पहुँच पुग्न नसक्नु र सहभागितामा कमीले महिला हिंसाको घटना बढ्दो क्रममा रहेको प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए। रासस