इटहरीः  गत मङ्सिर १८ गते रातको २ बजेको समयमा इटहरी उपमहानगरपालिका ९ स्थित नविल बैङ्क इटहरी शाखाको  काउन्टरमा एक युवक प्रवेश गरी त्रिशूलले  मेसिन फुटाउन थाले । पैसा चोरी गर्न  मेसिन तोडफोड गर्न थालेको सिसिटिभी फुटेजका आधारमा प्रहरीले चोरी प्रयास गर्दा गर्दै पक्राउ गर्न सफल भयो ।  मेसिनबाट पैसा चोरी हुन बाट जोगियो ।

यस्तै, गत कात्तिक २८ गते इटहरी ४ बस्ने मनमाया गुरुङको घरको कम्पाउन्ड भित्र राखिएको साइकल चोरी भयो । उनले प्रहरीमा जानकारी गराइन । प्रहरीले सिसिटिभी फुटेजका आधारमा इटहरी उपमहानगरपालिका वडा न १० डुमरकटा बस्ने ३९ वर्षका मनोज कार्कीलाई चोरी भएको साइकल सहित पक्राउ गर्न सफल भयो । चोरीमा संलग्न कार्कीलाई कानुनी कारबाही भयो ।

यी दुई घटना इटहरीका प्रतिनिधि घटना मात्र हुन । जो सिसिक्यामराका कारण समाजमा हुने आपराधिक तथा अवाञ्छित कार्यलाई रोक्न र शान्ति सुरक्षा कायम गर्न सफल भएका छन् ।

व्यापारिक ट्रान्जिट शहर इटहरी,कोशी प्रदेशकै व्यस्त शहर हो । मानिसहरूको आवतजावतले मात्रै नभएर आर्थिक तथा वित्तीय कारोबार गर्ने मुख्य थलो बनेको छ, इटहरी ।

सुरक्षित शहरमा मात्रै आर्थिक, सामाजिक, सांस्कृतिक गतिविधि हुन्छन् । सुरक्षित ठाउँमा नै व्यवसायीक कारोबार गर्न व्यापारी,व्यवसायी,ठुला बैङ्क वित्तीय संस्थाहरू जान्छन् । यस्ता सङ्घ संस्थालाई आकर्षित गर्न र टिकाई राख्न सुरक्षाको प्रत्याभूति दिनै पर्छ ।

शहरको सुरक्षामा संवेदनशील बन्दै इटहरी उपमहानगरले मुख्य दुई पक्षमा जोड दिएको छ । पहिलो, सुरक्षित र शान्त शहर, दोस्रो अपराध न्यूनीकरण र नियन्त्रण ।

झट्ट सुन्दा प्रहरी प्रशासनको काम लागे पनि त्यसमा स्थानीय सरकारले सहयोगीको भूमिका निर्वाह गरेको इटहरी उपमहानगरले बताएको छ ।

उपमहानगरले शहरलाई सुरक्षित राख्न सिसिक्यामरा जडानलाई तीव्रता दिएको छ । सुरक्षा चुनौतीलाई ख्यालमा राख्दै इटहरी उपमहानगरपालिकाले सिसिक्यामरा जडान गर्न थालेपछि  सुरक्षित महसुस गर्न थालिएको छ ।

यहाँका व्यापारी, व्यवसायी, बैङ्क वित्तीय संस्था, अन्य व्यवसायीक संस्थाहरूले आफ्ना गतिविधि गर्न सुरक्षित महसुस गर्न थालेका छन् ।

सिसिक्यामराबाट मनिटरिङ

अहिले इटहरीको पूर्वपश्चिम, उत्तर दक्षिण हाइवे, मुख्य बजार, व्यस्त बजार र सार्वजनिक स्थललाई सिसिक्यामराले निरन्तर निगरानी गर्दै सुरक्षा दिई रहेका छन् ।

इटहरीमा हाइवे, मुख्य बजार, चल्तीका व्यस्त बजार,सार्वजनिक स्थल,देखी इटहरी ६का भित्री सडकहरू सम्म गरी कुल ८० भन्दा बढी सिसिक्यामरा जडान भएका छन् ।

इटहरीको हाइवे दक्षिण पश्चिम ८ वटा, पूर्व उत्तरमा ८ वटा सिसिक्यामराले हाइवेको निगरानी गर्छन् ।  

इटहरीका व्यस्त बजारहरू आइतबारे क्षेत्रमा ८ वटा, वि।पी चौक क्षेत्रमा ६ वटा, नेशनल गल्लीमा ८ वटा, बुधबारे हटिया लाइन एरियामा ६ वटा, सदकार्य टोलमा ६ वटा, सङ्गीत चौक,पारुहाङ चौकमा ४,४ वटा क्यामरा जडान गरिएको छ ।

जडान भएका सिसिक्यामराको व्यवस्थापन, इलाका प्रहरी कार्यालय, ट्राफिक व्यवस्थापन कार्यालय र वडा नम्बर ६ले गर्ने गरेको छ । विभिन्न स्थानमा जडान भएका सिसिक्यामराको डिस्प्ले मोनिटर तथा कन्ट्रोल निश्चित स्थानमा राखिएको छ ।

मुख्य रूपमा इलाका प्रहरी कार्यालय, ट्राफिक व्यवस्थापन कार्यालयमा मोनिटर कन्ट्रोल रुम राखिएको छ । यी बाहेक अन्य ठाउँका क्यामराको डिस्प्ले मोनिटर नजिकका कुनै सरकारी कार्यालय वा व्यवसायीसँगको सहकार्यमा राखिएको छ ।

4e00e63d-cd5b-49d0-a0a9-79f438093a05

डिस्प्ले मोनिटर कन्ट्रोल रुम राखिएको ठाउँमा २४ सै घण्टा बिजुली तथा इन्टरनेटको सुविधा हुने ठाउँमा राखिएको छ । यस्ता कन्ट्रोल रुममा पासवर्ड राखिएको छ । जसको जानकारी इलाका प्रहरी र वडा कार्यालयका प्राविधिकलाई मात्र हुन्छ ।

फुटेजको सुरक्षा र गोपनीयतामा विशेष ध्यान दिएर प्रहरी र वडा कार्यालयलाई मात्रै पासवर्डको अधिकार दिएको छ ।  

अपराध नियन्त्रण र अनुसन्धानमा सहयोगी

दैनिक विभिन्न प्रकारका घटनाहरूको निगरानी गर्न तथा घटिसकेका घटनाहरूको अनुसन्धान गर्न सिसिक्यामराले प्रहरीलाई सहज बनाइदिएको छ ।

बजारमा शान्ति सुरक्षा कायम राख्न देखी लिएर विभिन्न समयमा हुने राजनीतिक दल वा अन्य समूहले गर्ने जुलुस, सभा र सम्मेलनमा पसेर हुलदङ्गा गर्ने समूहलाई निगरानी गरी व्यवस्थापन गर्न पनि सिसिक्यामरा सहयोगी बनेको प्रहरी अधिकारीहरू बताउँछन् ।

इटहरीमा हुने विभिन्न अपराधका घटना देखी लिएर चोरीका घटनाको अनुसन्धान तथा अध्ययन गर्न सिसिटिभी फुटेज ठुलो प्रमाण बन्ने गरेको छ । विशेष गरी चोरीका घटनामा चोरको पहिचान गर्न सिसिटिभी फुटेजले धेरै सहज भएको इटहरी प्रहरीको भनाई छ ।

इटहरीमा चोरीका घटनामा संलग्नको पहिचान गर्ने र पक्राउ गर्न सिसिक्यामराले सहज बनाइदिएको इलाका प्रहरी कार्यालयका डिएसपी टेक बहादुर कार्कीले बताए ।

इटहरी ४को चोरी र इटहरी ९को एटिएम मेसिन तोडफोडको घटना दुवै सिसिटिभी फुटेज हेरेर नै दोषीलाई पक्राउ गर्न सफल भएको डिएसपी कार्कीले बताए ।  

अन्य प्रकृतिका अपराधमा प्रमाणहरूको खोजीमा सिसिटिभी फुटेज प्रमाणको रूपमा काम गर्ने डिएसपी कार्कीले बताए ।

इटहरीमा थोरै जनशक्तिमा सम्पूर्ण बजारको निगरानी गर्न समस्या हुने गरेको अवस्थामा सिसिटिभी क्यामराले सहयोग पु¥याएको उनको भनाई छ । कार्यालयको कन्ट्रोल रुममा भएका सिसिक्यामरा हेरेर पनि धेरै कुराहरू निगरानी गर्ने गरिएको उनको भनाई छ ।

 ट्राफिक व्यवस्थापनलाई सहज बनाउँदै  

सवारी दुर्घटना न्यूनीकरण तथा दुर्घटना भएमा उक्त घटनामा संलग्नको पहिचान तथा कारबाही गर्न इटहरीमा जडान भएका सिसिक्यामराले सहज बनाएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक सरोज पौडेलले बताए ।

मुख्य गरी सवारी दुर्घटना हुँदा दुर्घटना गरी फरार भएका सवारी साधन तथा चालकलाई पक्राउ गर्न सिसिक्यामराले सहयोग पु¥याएको प्रमुख पौडेलले  बताए ।

इटहरीको मुख्य चौकमा रहेका सिसिक्यामराले बजार क्षेत्रमा हुने सवारी दुर्घटना तथा अन्य सवारी नियम उलङ्घन गर्नेलाई पक्राउ गरी कारबाही गर्न सहज भएको ट्राफिक प्रहरीको भनाई छ ।

ट्राफिक कार्यालयमा रहेका सिसिक्यामरा र लाइटको सिस्टमको कन्ट्रोल रुमबाट इटहरीको मुख्य चौक तथा हाइवे क्षेत्रको प्रत्यक्ष निगरानी भइरहेको हुन्छ ।

हाइवेमा जडान भएका सिसिक्यामराले पूर्वपश्चिम तथा उत्तर दक्षिण क्षेत्रमा हुने सवारी दुर्घटनाको पहिचान गर्न सहयोग पुगेको प्रमुख पौडेले बताए ।

गत मङ्सिर १९ गते राती ११ः५० बजे इटहरी ४ मिलन चौकमा हाइवेमा पूर्वबाट आउँदै गरेको को १ख ६०३४ नम्बरको ट्रकले बुढिखोलामा चेकजाँच गर्न बसेका प्रहरी हवल्दार कमल प्रसाद शर्मालाई नै ठक्कर दिएर भाग्यो । फरार भएको ट्रकलाई सिसिक्यामराको फुटेज हेरेर पक्राउ गर्न ट्राफिक सफल भयो । धनकुटा पख्रिबास ९ बस्ने ३० वर्षका अर्जुन तामाङलाई इटहरी २०बाट प्रहरीले पक्राउ गर्न सफल भयो । उनलाई कानुन बमोजिम कारबाही गरियो ।

केही दिन अघि सिसिटिभी क्यामराको मद्दतले दुर्घटना गराएर फरार भएको सवारी साधनको पहिचान गरी पक्राउ गर्न सफल भएको ट्राफिक कार्यालयले जनाएको छ ।

माघ ५ गते दुहबी ८ मा नम्बर नखुलेको कारले साइकल यात्रीलाई ठक्कर दिएर फरार भयो । घाइतेको उपचारको क्रममा मृत्यु भयो । सिसिटिभी फुटेजका आधारमा ट्राफिक प्रहरीले दुर्घटना गराउने सवारी साधानलाई धरानबाट पक्राउ गर्न सफल भयो ।

यी दुई घटना जस्ता थुप्रै सवारी दुर्घटनाका मुद्दामा प्रहरीले सिसिटिभीको मद्दतले दोषीलाई पक्राउ गरी कानुनी कारबाही गरेको छ ।

पछिल्लो समय सिसिक्यामरा फुटेजकै आधारमा २१ वटा घटनामा अनुसन्धान गरी ट्राफिक प्रहरीले दोषीलाई कारबाही गरेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ ।

यात्रा गर्ने यात्रुको छुटेका सामानहरू सिसिटिभी फुटेज हेरेर ३७ जना यात्रुको सामान फिर्ता दिएको छ । यस्तै ३ जना यात्रुको नगद सहितको सामान फेला पारेर सम्बन्धित व्यक्तिलाई जिम्मा लगाएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेलले जानकारी दिए ।

इटहरीमा ३० क्यामरा निगरानी गर्ने यस कार्यालयले कोसी प्रदेश भरीमा भने कुल ११७ वटा सिसिक्यामरालाई मनिटरिङ गर्ने गरेको छ ।

हराएको सामान खोजी गरिदिन वडा अध्यक्षलाई फोन

 इटहरीमा कुनै सामान हराए, वा कुनै ठाउँमा चोरी भए खोजी गरिदिनुप¥यो भन्दै वडा न।६का अध्यक्ष दिवस पोख्रेललाई फोन आउँछ । सिसिक्यामरा जडान अभियान चलाएपछि अध्यक्ष पोख्रेललाई विशेष गरी बजार क्षेत्रमा हराएको सामान खोजी गरिदिनुप¥यो भन्दै धेरैले फोन गर्छन् ।

उनी पनि सेवाग्राहीको समस्यालाई बुझेर सम्बन्धित ठाउँको सिसिक्यामरा फुटेज हेरेर हराएको सामान खोजेर हस्तान्तरण गरिदिन्छन् ।

पछिल्लो समय सिसिक्यामरा जडान भएपछि सामान हरायो भन्दै मानिसहरू उनलाई भेट्न वडा कार्यालय सम्मै पुग्छन् ।

सुनसरीको चतरा घर भएकी एक महिलाको करिब ४० हजार बराबरको कस्मेटिक सामान खरिद गरी घर जाने क्रममा म्याजिकमा छुट्यो । ती महिलाले रुदै वडा अध्यक्ष दिवस पोख्रेललाई फोन गरेर घटना सुनाइन । खोजी गर्दा नभेटेपछि घरमा गाली गर्छन् भनेर उनी घर नगई रातभर इटहरीमै बसेको बताइन । भोली पल्ट त्यस क्षेत्रलाई कभर गर्ने सिसिक्यामराको फुटेज हेर्दा उनी चढेको म्याजिक देखियो । म्याजिक सञ्चालकसँग कुरा गरेपछि सञ्चालकले सामान ल्याइदिए ।

सामान ल्याइदिए पनि म्याजिक सञ्चालकको नियत साफ देखिएन । हराएको सामान उनले प्रहरीमा बुझाएका थिएनन् । आइन्दा यस्तो गल्ती नगर्ने गरी एक पटकलाई भनेर सम्झाएर छाडिदिएको वडा अध्यक्ष पोख्रेलले बताए ।

यस्तै अर्को घटना सुनाए वडा अध्यक्ष पोख्रेलले । इटहरी आइतबारे घर भएकी एक विद्यार्थी काठमाण्डौँबाट इटहरी ओर्लिएर सिटिरिक्सा चढिन् । उनी घर पुगेको केही समय पछि थाहा भयो, ल्यापटप र डकुमेन्ट भएको ब्याग सिटिरिक्सामै छुटेछ । खोजी गर्दा नभेटेपछि उनी प्रहरीका कहाँ गइन् । तर प्रहरीले जति चासो दिनुपर्ने त्यति दिएन ।

त्यसपछि उनले वडा अध्यक्ष पोख्रेललाई फोन गरिन् र घटना सुनाइन । वडा अध्यक्ष पोख्रेलले विपी चोक बाट सिसिक्यामरा फुटेज फलो गर्दा सिटिरिक्सा सब्जीमण्डीको बाटो हुँदै आइतबारे गएको देखियो ।

सिटिरिक्सा चालकहरूसँग कुरा गर्दै सामान फिर्ता गरिदिन नभए कानुनी कारबाही गर्ने पोख्रेलले बताए । २ घण्टा पछि सिटिरिक्सा चालकले सामान ती विद्यार्थीको घरमै पु¥याइदिए । तर सामान पाएको ती विद्यार्थीले फेरी वडा अध्यक्षलाई जानकारी गराइनन् ।

किन जानकारी नगराएको भन्दा आफूबाट गल्ती भएको उनले स्वीकार गरिन् । पछि सामाजिक सञ्जालमा आफूले हराएको सामान भेटिएको भन्दै सतर्कता अपनाउन उनले पोस्ट गरिन् ।

यी घटना जस्ता थुप्रै फोन अहिले आफूलाई आउने गरेको वडा अध्यक्ष पोख्रेल बताउँछन् । कतिपय घटना सामाजिक सञ्जालमा पनि राखिदिने गरेको उनले सुनाए । मुख्य रूपमा इटहरी बजारमा सबै सिसिक्यामराको निगरानीमा हुनुहुन्छ भन्ने सन्देश दिन पनि यो आवश्यक भएको उनको भनाई छ ।

सिसिक्यामराको निगरानीमा छ भन्ने थाहा भएपछि आपराधिक गतिविधि तथा अवाञ्छित गतिविधि नियन्त्रणमा आउने उनको भनाई छ  ।

वडा कार्यालयको पहलमा उनी आफैले सिसिक्यामरा जडान अभियान चलाएको बताउँछन् । हाल सम्म करिब २५ लाख बराबरको सिसिक्यामरा जडान गरिसकेको उनले सुनाए ।

इटहरीका अझै केही व्यस्त सार्वजनिक स्थलमा क्यामरा जडानको योजना रहेको उनले सुनाए ।  

व्यवस्थापनको चुनौती

इटहरी बजार सहितका अन्य ठाउँमा राखिएका सिसिक्यामराको दीर्घकालीन व्यवस्थापन भने चुनौतीपूर्ण नै देखिएको । सडकका पोल, सार्वजनिक स्थलमा राखिएका क्यामरा घामपानी लगायत अन्य विविध कारणले बिग्रने सम्भावना हुन्छ । त्यसको नियमित मर्मत सम्भार गर्नुपर्ने हुन्छ ।

यसका लागि नियमित आर्थिक स्रोत नहुँदा समस्या हुने गरेको छ ।

सिसिक्यामरा राखिए पनि त्यसको नियमित मर्मत तथा सम्भार नहुँदा र बिग्रिएको बेला कसले बनाउने भन्ने समस्या हुने गरेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक सरोज पौडेलले बताउँछन् ।

व्यवसायीक संस्था तथा उपमहानगरले हाइवेमा सिसिक्यामरा जडान गर्ने तर त्यसको मर्मत सम्भारमा ध्यान नदिँदा समस्या हुने गरेको पौडेल बताउँछन् ।

प्रहरी उपरीक्षक पौडेलको जस्तै अनुभव छ इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी टेक बहादुर कार्कीको पनि । इलाका प्रहरी कार्यालयले मोनिटरिङ गर्ने क्यामरा बिग्रिएको समयमा बनाउन समस्या हुने गरेको डिएसपी कार्की बताउँछन् । सिसिक्यामराको दीर्घकालीन व्यवस्थापनमा ध्यान दिनुपर्ने दुई प्रहरी अधिकारीको सुझाव छ ।

सिसिक्यामराको दीर्घकालीन व्यवस्थापनका लागि उपमहानगरपालिकाले बजेट विनियोजन गर्नुपर्ने वडा अध्यक्ष पोख्रेल बताउँछन् । अल्पकालीन र दीर्घकालीन दुवै ढङ्गबाट आर्थिक स्रोतको व्यवस्थापन गर्नुपर्ने उनको भनाई छ ।

वडा न ६ मातहत रहेका क्यामराको मनिटरिङ गर्ने गरी वडा कार्यालयमै कन्ट्रोल रुम बनाउने योजना रहेको उनले सुनाए । अब केही समय पछि सबै क्यामराको डिस्प्ले सहितको मनिटरिङ वडा कार्यालयबाट हुने उनको भनाई छ । वडा कार्यालयमा हुँदा सुरक्षा,बिजुली,इन्टरनेट लगायतले सहज हुने भएकाले यसो गर्न लागिएको उनले स्पष्ट पारे ।