इनरुवाः सुनसरी सदरमुकाम इनरुवा नगरको सौन्दर्यीकरणका लागि भन्दै नगरपालिकाले गरेको लाखौ रुपैयाको बजेट खर्च संरक्षणको अभावमा अहिले वालुवमा पानी हाले जस्तै बन्न पुगेको छ । 

इनरुवा नगरपालिकाको लगानीमा इनरुवा २ मगरटोलदेखि शिक्षा कार्यालयसम्म,  वडा नम्बर ९ कार्यालय र नगरपालिकाको लगानीमा शिक्षा कार्यालयदेखि बबिया चोकसम्म, इनरुवा ३ र नगरपालिकाको लगानीमा सखुवागाछीदेखि अदालतसम्म सडकका र इनरुवा ४ बसचौकमा पार्क र सडकको दुबै किनारमा बत्ती जडान, गमला र फूल रोप्न गरिएको लगानी संरक्षण र रेखदेखको अभावमा लवारिस जस्तो बन्दा त्यसमा गरिएको लाखौ लगानी बालुवामा पानी हाले जस्तो बनेको हो । 

बबिया चोकदेखि शिक्षा कार्यालयसम्म गरिएको सौन्दर्यीकरणले अहिले सो क्षेत्रको सुन्दरता झल्काउनुको साटो कुरुप बनाएको अनुभव हुन्छ । सडक किनारमा आर्कषक फूलसहित राखिएका महंगा सिमेन्टका गमलाहरु यत्रतत्र फालिएका अवस्थामा छन । 

आधाउधी गमला फुटेका छन त्यसैगरी सडक किनारमा फलामका पाइपसहित जडान गरिएका रंगीचङ्गी बत्तिहरु कतै पाइप ढलेका छन भने अधिकांश बत्तिहरु फुटाइएका छन । अहिले सो क्षेत्रका एकाध बाहेकका बलहरु बल्दैनन । 

त्यस्तै इनरुवा २ मगरटोलदेखि शिक्षा कार्यालयसम्म खुल्ला जिमसहित इनरुवाको सबैभन्दा आर्कषक सडकको रुपमा विकास गरिने घोषणासहित ठूलो लगानी गरिएकोमा अहिले त्यहाँ रहेका सबै गमलाहरु रित्ता छन । 

केही घरका अगाडि एकाध फूल विरुवा देखिएपनि अधिकांश रित्ता छन । सो क्षेत्रमा जडान गरिएका बत्तिहरु अधिकांश बल्दैनन भने बल फुटाइएको र बत्तिका फलामे पोलहरु अधिकांश ढलेको अवस्थामा छन । 

इनरुवा ३ सखुवागाछीदेखि अदालतसम्मको सडकमा सम्भवत मुलुककै पहिलो फुड स्ट्रिट बनाउने योजनासहित गरिएको लाखौको सौन्दर्यीकरण पनि अहिले अलपत्र बनेको छ । 

त्यहाँ राखिएका अधिकांश गमलाहरुमा फूलको ठाँउमा घाँस पलाएका छन धेरै गमला फुटिसकेका छन भने सडक बत्तिका पोलहरु पनि भाँचिएका, फुटाइएका र नबलने स्थितिमा छन । 

त्यसैगरी इनरुवा वडा नम्बर ४ को बसचौक र रामजानकी मन्दिरसम्मको सौन्दर्यीकरणका लागि राखिएका गमला, गमला स्टेन र बल अहिले लावारिस जस्तो बनेको छ । त्यहाँका अधिकांश बत्ति बल्दैनन भने कुनैपनि गमलामा फूल देखिदैनन । केही गमलाहरु त चोरीसमेत भईसकेको छ । 

इनरुवा ४ बसचौकमा पसल सञ्चालन गरेर बसेका कृष्ण श्रेष्ठ चौकको सौन्दर्यीकरणका लागि लाखौ रुपैया खर्च गरिएपनि निर्माण भएपनि त्यसको संरक्षणका लागि कोही पनि फर्किएर नआउँदा र चासो नदेखाउँदा सबै बनाइएका साधनहरु काम नलाग्ने स्थितिमा पुगेका छन । 

उनले आफ्नो पसल अगाडि र आसपासका गमलाहरु चोरिएको तर आफूले भने तीन चार वटा गमलामा फूल रोपेर संरक्षण गरिरहेको देखाए । उनी नगरपालिकाले तत्कालिन अवस्थामा रुष्टहरुलाई खुसी बनाउने गरी सौन्दर्यीकरणको नाममा केही बजेट दिएर थामथुम गराएको तर त्यसपछि त्यसको संरक्षणमा चासो नदिएकोले यस्तो अवस्था आएको बताए । 

इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले स्थानीयको सहभागितामा टोलविकासहरुले स्वामित्व ग्रहण नगरुन्जेलसम्म यस्ता लागनीको दुरुपयोग हुने क्रम नरोकिने बताउँदै आगामि दिनमा आफूले टोल विकासमा चेतना जगाएर यस्ता लगानीको संरक्षण गर्नु पर्ने बताए ।

उनले इनरुवाको मुख्य बजारको सौन्दर्यीकरणको लागि उद्योग बाणिज्य संघसँगको सहकार्यमा गर्ने गरी योजना बनाईएको जानकारी दिए ।