ताप्लेजुङः गए राती ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ८ याम्फुदिनमा बोलेरो जिप दुर्घटना हुँदा चालकको घटना स्थलमै  मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) राजन लिम्बूका अनुसार  सो दुर्घटनामा  बोलेरो चालक ताप्लेजुङको फुङलिङ ५ बस्ने ३० वर्षिय निशान लिम्बूको घटना स्थलमै मृत्यु भएको हो । 

याम्फुदिनको भोटेगाउँबाट छेबुकतर्फ जाने क्रममा उनले चलाएको प्र १–०१–००१ज ३४३७ नम्बरको बोलेरो  दुर्घटनामा परेको प्रहरीले जनाएको छ।  

प्रहरीका अनुसार भोटेगाउँबाट छेबुकतर्फ जाँदै गर्दा गाडी बन्द भई बिग्रिएकोले चालक निसान आफैंले फोन गरी स्थानीय २ जनालाई गाडी धकेलिदिनका लागि सहयोग गर्न बोलाएका थिए। 

गाडी पछाडिबाट ओरालोतर्फ धकाल्ने क्रममा अनियन्त्रित भई सडकको भित्तामा ठोकिँदा अचानक सवारी पल्टिएर चालक निसानलाई सोहि सवारीले किचेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।  

घटनाको स्थलगत अनुसन्धान तथा उक्त घटनास्थललाई सुरक्षित गर्न याम्फुदिन प्रहरी चौकीका प्रहरी हवल्दार बिनोद उरावको टोली खटिई गएको समेत प्रहरीले जनाएको छ।  

घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय तेल्लोकका प्रहरी निरीक्षक कोमल ठाकुरको नेतृत्वमा प्रहरी टोली परिचालित भएको  जिल्ला प्रहरी प्रमुख(डिएसपी)लिम्बूले जानकारी दिएका छन् । लिम्बूको शब घटना स्थलबाट उठाएर पोष्टमार्टका लागि अस्पताल तर्फ पठाउने कार्य भईरहेको उनले बताए ।