काठमाडौँः  सन् २०२३ को ११ महिनामा नौ लाखभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार सन् २०२३ को जनवरीदेखि नोभेम्बरसम्म हवाई मार्ग भएर नौ लाख १८ हजार ३०८ पर्यटक नेपाल प्रवेश गरेका छन् । 

बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार सरकारले सन् २०२३ मा १० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएकोमा नोभेम्बरमा एक लाख आठ हजार ६३० जना पर्यटक नेपाल भित्रिएसँगै सरकारको लक्ष्य नाघ्ने अपेक्षा गरिएको छ । उनले भने, “सन् २०२२ को नोभेम्बरमा ७२ हजार ६५३ पर्यटक नेपाल भित्रिएका थिए भने सन् २०२१ को सोही अवधिमा २६ हजार १३५ पर्यटक नेपाल भित्रिएका थिए । 

कोरोना महामारीपछि समान्य बनिरहेको पर्यटन क्षेत्रमा पर्यटनको बढ्दो आगमनले सरकारको १० लाख पर्यटक भित्र्याउने लक्ष्य भेट्ने अपेक्षा गरिएको छ ।” कोरोना महामारीअघि सन् २०२० मा एक हजार ९५६ र २०१९ मा एक लाख ३० हजार ३०२ पर्यटक नेपाल भित्रिएको उनले बताए। डिसेम्बरमा पनि एक लाखको हाराहारीमा पर्यटन भित्रिने उनको दाबी छ । त्यस्तै विभिन्न सीमानाकाबाट नेपाल भित्रिने पर्यटकको सङ्ख्यामा समेत सुधार हुँदै आएकाले १० लाख पर्यटक भित्रिने उनको विश्वास छ । 

बोर्डका अनुसार नोभेम्बरमा सबैभन्दा बढी भारतबाट २४ हजार ४४३, अमेरिकाबाट ११ हजार ४६१, चीनबाट सात हजार ६०१, बेलायतबाट छ हजार १३८, अस्ट्रेलियाबाट पाँच हजार ६०, थाइल्यान्डबाट तीन हजार ९६२, बङ्गलादेशबाट तीन हजार ७६१, जर्मनीबाट तीन हजार ५१२, श्रीलङ्काबाट तीन हजार २२८ र फ्रान्सबाट तीन हजार २०५ पर्यटक नेपाल भित्रिएका छन् ।