मोरङः  कार्तिक १५ गते साँझ जिल्ला प्रहरी कार्यालय मोरङका एसपी दीपक पोखरेललाई इलाका प्रहरी कार्यालय बेलबारी मातहतका बजार क्षेत्रमा खुलेआम जुवाजन्य गतिविधि भइरहेको सूचना पुग्छ । गछिया, तिनपैनी, लोचनी, गोठ गाउँ र बेलबारीका बजार क्षेत्रमा जुवा खेलाइएको ठाउँको विवरण पोखरेलाई दिइरहँदा उनले सूचना दिने व्यक्तिलाई धन्यवाद म्यासेज फर्काउँदै एक्सन लिने आश्वासन दिन्छन् । 

मोरङ जिल्लाको प्रहरी प्रमुखलाई नै यस्तो सूचना आएपछि उनले बेलबारीका प्रहरी निरीक्षक तेज बहादुर दाहाललाई फोन मार्फत जानकारी लिन्छन् । दाहालले सूचना आए जस्तो अवस्था नरहेको र आफूले यस विषयमा मातहतका इन्र्चाजसँग बुझ्ने भनेर एसपी पोखरेललाई बनावटी जवाफ फर्काउँछन् । 

तर प्रहरी निरीक्षक दाहालले खुलेआम जुवा नियन्त्रण गर्नु त कहाँ हो कहाँ उल्टै एसपीलाई सूचना दिने व्यक्तिको बारेमा सोधिखोजी गर्न लाग्छन् । 

कार्तिक १६ गते साँझसम्म पनि खुलेआम जुवाजन्य खेल नियन्त्रणमा नआएपछि सूचना दिने व्यक्तिले पुर्न एसपी पोखरेल र कोशी प्रदेश प्रहरी प्रमुख डिआइजीलाई प्रमाणसहित भिडियो पठाउँछन् । 

तर पनि जुवाजन्य खेल तिहार सकिएको बिहीबारसम्म पनि सोही क्षेत्रमा डाइस, तास र हाउजी खेल अझै सञ्चालन भइरहेका छन् । 

त्यस्तै प्रहरी चौकी गछियामा दशैको समयमा तास खेलिरहेका केही व्यक्तिलाई तास र नगदसहित नियन्त्रणमा लिएको थियो । तर स्थानीय केही क्रसर व्यवसायीले प्रहरी चौकीबाट उनीहरूलाई तत्कालै छुटाएका थिए । यसमा प्रहरी निरीक्षक दाहालले उनीहरूलाई छाड्न निर्देशन दिइएको प्रहरी स्रोतको दाबी छ । 

त्यसो त गछिया, तिनपैनी, लोचनी, गोठ गाउँ र बेलबारी क्षेत्रमा डाइसमा मात्र एकै व्यक्तिले २५ हजार रुपैयाँसम्म दाउ थाप्ने गर्छन् । यसले एकै खालमा लाखौँ रुपैयाँ माथिको जुवा सञ्चालन भइरहेको पुष्टि हुन्छ । गछिया बजारदेखि दक्षिण लोचनी जाने बाटोमा एकै ठाउँ ४ वटासम्म खाल सञ्चालन हुने गर्छ । तिनपैनीमा तिहारमा मात्र ६ वटा सम्म खाल सञ्चालन भएका छन् । 

उता बेलबारीमा अहिले कात्तिक १७ गतेदेखि मङ्सिर १० गतेसम्म बेलबारी मिनी  महोत्सव सञ्चालन भइरहेको छ । त्यहाँ पनि जुवाजन्य खेल सञ्चालन भइरहेका छन् । 

दसैँ र तिहारमा बेलबारी प्रहरीको मातहतका क्षेत्रमा भइरहेका जुवाजन्य गतिविधि नियन्त्रणमा प्रहरीले सूचनाको व्यवस्था गरेको हो वा प्रहरी प्रभावमा परेको विषय अहिले प्रश्न उब्जिएको छ । 
चाडपर्वको नाममा बजार क्षेत्रमा हुने डाइसको खालबाट प्रहरीलाई स्वाभाविक रूपमा पैसा बुझ्ने गर्छन् । र लुकिछिपी हुने लाखौँ रकमको तास र जुवाबाट समेत प्रहरीलाई पैसा भाग लगाइने गरिन्छ । 

यस विषयमा मोरङका एसपी दीपक पोखरेलले नागरिक स्तरबाट आएका सूचनालाई भेरिफाई गरी प्रहरीले केही ठाउँबाट डाइस खेल्ने र तास खेल्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिएको बताउँछन् । बिराटचौकबाट तास र नगदसहित पक्राउ परेकाहरूलाई मुद्दा चलाएको समेत बताउँदै जिल्लामा चाडपर्वको समयमा जुवाजन्य गतिविधि नियन्त्रणमा प्रहरीले सक्रिय भूमिका खेलेको पोखरेलको भनाई छ ।

५ राउन्ड हवाई फायर

गत कार्तिक २९ भाइ टिकाको दिन मोरङको सुन्दरहरैचा ४ दुलारीमा ५ राउन्ड गोली फायर भएको छ । बिहान ३ बजेको समयमा पूर्वबाट पश्चिम आउँदै गरेको बाइकमा सबार दुई जना मध्ये पछाडि बस्ने व्यक्तिले पेस्तोल आकाश तर्फ तेर्साएर गोली फायर गरेका थिए । प्रत्यक्षदर्शीका अनुसार कालो रङको बाइकमा सबार उनीहरूले सुरुमा ४ राउन्ड लगातार र केही मिटर अगाडी एक राउन्ड गोली फायर गरेर इटहरी तर्फ लागेका थिए ।

तिहारको समयमा पटका पड्केको जस्तो आवाज आए पनि प्रत्यक्षदर्शीले पेस्तोलबाटै नै गोली फायर भएको दाबी गरेका छन् । गोली फायर भएको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गर्ने मोरङका एसपी दीपक पोखरेलले जानकारी दिए ।