फिदिमः  सिक्किम, भारतको गेजिङका मिलन गुरुङ आफूले पालेको छाउरी कुकुर लिएर पाँचथरको याङ्वरक गाउँपालिका–२, पानीभित्ताका सूर्यमान गुरुङको गोठ आइपुगेका छन । मिलनका छिमेकी तेन्जिङ भोटिया पनि आफ्नो माउ कुकुर लिएर पानीभित्ताकै किपालमु शेर्पाको गोठ आइपुगेका हुन । 

उनीहरू दुवै आफ्नो भोटेकुकुरलाई प्रजनन गराउन सिक्किमदेखि पाँचथरको उच्च पहाडी भेगका चौँरीगोठसम्म आइपुगेका हुन। उनीहरूले कुकुर लिएर यहाँसम्म आउन चार÷चार हजार भारतीय रुपियाँ तिरेर गाडी रिर्जभ गरी आएका हुन। गेजिङबाट उत्तरेसम्म यति खर्च गरेर आएका उनीहरूलाई उत्तरेदेखि याङ्वरकका चौँरीगोठ आउन एक दिन लाग्छ ।

“असली भोटेकुकुरका छाउरा जन्माउन यतिको मेहनत गरेका हौँ । छाउरी कुकुर गर्भवती भएको निक्र्यौल भएपछि फर्कने योजना बनाएका छौँ,” मिलनले भने । उनले लेकाली रैथाने प्रजातिको भोटेकुकुरसँग प्रजनन गराएर निक्खर छाउराछाउरी उत्पादन गर्ने चुनौती बढेकाले बर्सेनि नेपालतर्फका गोठमा माउ कुकुर लिएर आउने गरेको बताए ।

भारतको पश्चिम बङ्गाल र सिक्किमसँग सिमाना जोडिएका पाँचथरको याङ्वरक र फालेलुङ गाउँपालिकाका पाँच वटा गोठमा भोटेकुकुर पालिएका छन् । लेकाली भेगका भेडा, बाख्रा र चौँरीगोठका लागि भोटेकुकुर अनिवार्य जस्तै हुन्छ । कुकुर प्रजननको समय भएकाले यहाँका प्रायःजसो गोठमा यतिबेला धेरै माउ कुकुर ल्याइएको छ ।

भोटेकुकुर लेकमा मात्रै सजाउँछ । भोटेकुकुर अन्य स्थानीय प्रजातिका कुकुरसँग वर्णशङ्कर भए भोटेकुकुरको प्रजाति नै मासिने भएकाले प्रायः घरगोठमा माउ भोटेकुकुरलाई बाँधेर राखिन्छ । हाडनाताभित्र प्रजनन गराए सन्तानको गुणस्तर खस्किने सम्भावना धेरै भएकाले टाढा टाढा लगेर मिसाउने गरिएको हो ।

भारतको पश्चिम बङ्गाल र सिक्किमसँगै इलाम र पाँचथरका ग्रामीण भेगमा पालिएका भोटेकुकुर पनि लेककै गोठमा लगिने गरिएको छ । ती सबै कुकुरलाई एकअर्कामा समागम गराएर गर्भवती भएको निक्र्यौल गर्न झन्डै एक महिना लाग्ने स्थानीय बताउँछन् । 

‘टिबेटियन मेस्टेट’ भनिने भोटेकुकुर उच्च पहाडी र हिमाली क्षेत्रको महत्वपूर्ण र दुर्लभ प्रजाति हो । यो जात विशेषगरी लेकाली क्षेत्रका पशुपालक किसानले घर र गोठको सुरक्षार्थ पाल्छन् । उच्च पहाडी र हिमाली क्षेत्रमा चौँरीगोठको सङ्ख्या घट्न थालेसँगै यो प्रजातिका कुकुर पनि मासिन थालेका छन् । 

एउटा माउ कुकुर मिसाएबापत भोटेकुकर (भाले) धनीले बाली (रकम) लिन्छन् । गोठमा रहँदा खाँदा बस्दा लागेको खर्च माउ लिएर आउनेले नै बेहोर्छन् । भोटेकुकुरले दुध, खिर, घिउ, कुराउनी र मासु रुचाउँछन् । एउटा माउ कुकुरले एक पटकमा चारदेखि छ वटासम्म छाउरा जन्माउँछ । यो प्रजातिको कुकुरका छाउरो २० हजार र छाउरी १० हजार रुपियाँमा बिक्री हुन्छन् । भारतमा एउटै छाउराको ४० हजार रुपियाँसम्म पर्छ । 

माउ कुकुर गर्भवती भएको थाहा पाउनेबित्तिकै भोटेकुकुरका छाउराछाउरीको बुकिङ सुरु हुन्छ । पाँचथर, इलाम, ताप्लेजुङ र तेह्रथुमलगायत नेपालका विभिन्न क्षेत्र र भारतको दार्जिलिङ, सिक्किम र पश्चिम बङ्गालबाट छाउराछाउरी किन्न यहाँका गोठसम्म आइपुग्छन् । अहिले पाँचथर र इलामका २० वटा गोठ र केही घरमा मात्रै भोटेकुकुर पालिएको छ । यीमध्ये छाउरीको सङ्ख्या धेरै छ । भाले भने पाँच वटा मात्रै रहेको व्यवसायी बताउँछन् ।यो खबर आजको गोरखापत्रमा प्रकाशित भएको छ ।