चितवनः  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती चेपाङ समुदायसँग तिहार मनाउन चितवन आएका छन् । भरतपुर विमानस्थलमा  पत्रकारसँग कुरा गर्दै उनले चेपाङ समुदायसँग तिहार मनाउन आफू चितवन आएको बताए ।

उनले भने, “चेपाङ समुदायले तिहार कसरी मनाउछन् हेर्नुछ । उनीहरुसँग बसेर देउसी, भैलो खेल्नु छ ।” नेपालमा चेपाङ समुदायको धर्म संस्कृति, भाषा लोप हुने खतरामा पुगेको उनले बताए । उनले भने, “चेपाङको धर्म संस्कृतिलाई पर्यटनसँग जोड्न जरुरी छ ।” 

मान्छेहरु पुरानो संस्कृति हेर्ने इच्छा गरेको देखिएको बताउँदै उनले चेपाङ समुदायको धर्म संस्कृति र भाषा संरक्षण गरेर पर्यटनसँग जोड्नुपर्ने बताए । उनीहरुको भाषा, धर्म र संस्कृति लोप भए नेपाल बहुजाति, धर्म संस्कृति भएको देश भन्न नसकिने उनको भनाइ थियो ।

फरक प्रसङ्गमा उनले भरतपुर विमानस्थलको धावनमार्ग चार सय मिटर थप गर्नेगरी काम भइरहेको बताए । नेपालको काम नगर्ने संस्कृतिको अन्त्य गर्दै सरकारले विमानस्थलको धावनमार्ग बढाउनका लागि नेपाली सेनासँग कुरा गरिरहेको उनले बताए । 

उनले भने, “पहिला सेना र घोडा प्रजनन केन्द्र सार्ने कुरा गरेका थियौँ । वनका कारणले समस्या भयो । अब धावनमार्ग बढाउन सेनासँग छलफल भइरहेको छ ।” सेनासँग सहमति गरेर सेना पनि त्यहीँ रहनेगरी धावनमार्ग बढाउनका लागि तिहारलगत्तै छलफल गरेर टुङ्गो लगाउने उनको भनाइ थियो । धावनमार्ग बढेसँगै ७२ सिटे जहाज अवतरण गर्न सकिने र रात्रिकालीन उडान गर्न सकिने उनले बताए ।

वैज्ञानिक योजनाका आधारमा भन्दा पनि राजनीतिक दबाबका आधारमा विमानस्थल बन्ने गरेको बताउँदै उनले विमानस्थललाई व्यावसायिक प्रयोगमा लैजान सरकार लागेको बताए । निजगढ विमानस्थलको बाँकी काम अघि बढाउन मन्त्रिपरिषद्बाट निर्णय भएको बताउँदै उनले यसलाई अघि बढाउन मन्त्रालयले काम सुरु गरेको बताए । उनले भने, “यो विमानस्थल देशको आवश्यकता हो । काम अघि बढ्छ अब ।” 

अरु विमानस्थल थप्ने विषयमा वैज्ञानिक अध्ययन गर्नुपर्ने उनले बताए । जनताको माग र वैज्ञानिक अध्ययनका लागि कार्यदल बनाएर अघि बढेको उनको भनाइ छ । मन्त्री किरातीको रत्ननगर नगरपालिका वडा नं ११ मङ्गलपुरमा रहेको गामबेंसीको चेपाङ संरक्षण केन्द्रमा रहेका बालबालिकासँग देउसी, भैलो खेल्ने कार्यक्रम रहेको छ । केन्द्र सञ्चालन गर्दै आएका केपी किरण शर्माका अनुसार त्यहाँ एक सय ४५ जना चेपाङ बालबालिका रहेका छन् । 

त्यसपछि मन्त्री किराती इच्छाकामना गाउँपालिकाको चौकीभञ्ज्याङ र सप्रेमीस्थित चेपाङ समुदायमा पुग्नेछ । त्यहाँका चेपाङ संस्कृतिविद् भोटेबहादुर चेपाङको दम्पतीलाई सम्मान गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए । चेपाङ ७९ वर्षीय छन् । 

सोही क्षेत्रमा चेपाङ समुदायलाई मन्त्री किरातीले न्यानो कपडासमेत वितरण गर्ने कार्यक्रम रहेको छ । यसअघि प्रधानमन्त्री हुँदा डा बाबुराम भट्टराई कालिका नगरपालिका–१० को तीनदोभानमा आएर चेपाङ समुदायसँग रात बिताएका थिए । त्यतिबेला वडारमा रहेका बन्दीपुरे चेपाङलाई सम्मान गरेका थिए ।रासस