काठमाडौंः  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन ऐनहरु समय सापेक्ष बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन । बुधबार नेपाल पर्वतारोहण संघको ५० औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

पर्यटन मन्त्री किरातीले पर्यटन ऐनहरु पुरानो भएकाले समय सापेक्ष बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको बताए। उनले विदेशी पाहुनालाई जहाजको भाडा नेपालीको भन्दा दोब्बर बनाउँदा विश्व समुदायमा नकारात्मक सन्देश गएको बताए । उनले निषेधित क्षेत्रका कारणले पर्यटनमा धेरै ठूलो असहजता रहेको उनको भनाइ छ । उनले नेपालको पर्यटनलाई नयाँ ढङ्गले ब्राण्डिङ गर्नसके पर्यटनबाट समृद्धि सम्भव रहेको जिकिर गरे।

‘‘पर्यटनको मौलिकता हुन् । यसलाई हामीले विश्व समुदायमा नयाँ ढङ्गले ब्राण्डिङ गर्नसक्यौँ भने पर्यटनबाट समृद्धि सम्भव छ । पृथ्वीको हिमाल जलवायुको प्रतिक पनि रहेछ । जलवायुमा परिवर्तन हुँदै जाँदा हिमालहरु कालो हुँदै आउने दृश्यहरु हामीले देखेका छौं । संयुक्त राष्ट्रसंघका महामहिम महासचिवले हिजो संसदमा भन्नुभयो विशेष महत्त्व दर्शाउँदै हिमाल असामान्य रुपमा पग्लिरहेको छ ।’’ पर्यटन मन्त्री किरातीले भने, ‘‘नेपालले ३० वर्षदेखि यता धेरै ठूला विनाशकारी घटना व्यहोरिरहेको छ । समुन्द्रमा पानीको सतह बढीरहेको छ । संस्कृतिले ठूलो चुनौति व्यहोरिरहेको छ । हिउँ पहिरो बढी जाने सम्भवाना बढेको छ । जलवायु परिवर्तनको समाधान विश्वको साझा चुनौति बनेको छ । हामीले हाम्रो देशको हिमालको रक्षा गर्नसक्यौँ भने मात्रै नेपाल रहन्छ । पर्यटन ऐनहरु पुरानो छ, समय सापेक्ष गर्नुपर्ने छ । जहाजको भाडा विदेशी पाहुनालाई डबल गरेका छौँ । त्यसले नकारात्मक सन्देश विश्वमा गइरहेको छ । निषेधित क्षेत्रका कारणले पर्यटनमा धेरै ठूलो असहजता छ ।’’

मन्त्री किरातीले हिमाल फोहोर भएको भन्दै सबैले मिलेर सफा गर्नुपर्ने चुनौति रहेको बताए । उनले नेपालमा पर्यटनबाट समृद्धि सम्भव रहेको जानकारी दिए।