खानपानमा बेपर्वाह नेपाली समाज दशैं–तिहार जस्ता चाडबाडमा झनै लापरबाह हुन्छ। जसका कारण चाडबाडको समयमा खानपानकै कारण विभिन्न रोग तथा समस्या देखा पर्छ। त्यसैले चाडबाडको समयमा खानपानसँगै व्यायाम र शारीरिक सक्रियता बढाउन चिकित्सकहरु सुझाव दिन्छन्।

नेपालमा प्राणघातक नसर्ने रोगहरुको भार बढ्दो क्रममा रहेको विभिन्न अध्ययनले देखाएका छन्। पछिल्लो समय सार्वजनिक भएको नेपाल बर्डेन अफ डिजिजको प्रतिवेदन २०१९ अनुसार नेपालमा हुने कुल मृत्युमध्ये नसर्ने रोगको भार ७१ दशमलव ७ प्रतिशत रहेको छ। 

नेपालमा हुने मृत्युको प्रमुख कारणका रुपमा रहेका नसर्ने रोगहरुमा मुटु, मिर्गौला, उच्च रक्तचाप, मधुमेह, क्यान्सर जस्ता रोगहरु रहेका छन्। नेपालीहरुमा बढ्दै गएको अस्वस्थ जीवनशैली र खानपानले पछिल्लो समय प्राणघातक दीर्घकालीन नसर्ने रोगहरु बढ्दै गएको चिकित्सकहरु बताउँछन्। खानपानमा हुने हेलचेक्र्याइँ, व्यायाम र शारीरिक सक्रियताको कमी, तनाव, धूमपान र मदिरा सेवन लगायतका कारण युवा उमेरमा नै हृदयाघात, मस्तिष्कघात, मिर्गौला फेल जस्ता गम्भीर रोगका कारण धेरै नेपालीले ज्यान गुमाइरहेका छन्। 

‘खानपानमा बेपर्वाह नेपाली समाज दशैं तथा तिहारजस्ता चाडबाडमा झनै लापरबाह हुन्छ,’ डा भुपेन्द्र बस्नेत भन्छन्, ‘जसका कारण मानिसमा चाडबाडको समयमा खानपानकै कारण विभिन्न रोग तथा समस्या देखा पर्छ।’ चाडबाडको समयमा खानपानसँगै व्यायाम र शारीरिक सक्रियता बढाउन उनी सुझाव दिन्छन्।

‘दशैं र तिहारजस्ता चाडबाडका समयमा खानेकुरा नै नखानुहोस् त भन्न सकिँदैन,’ उनले भने, ‘तर स्वास्थ्य अवस्था हेरेर र आफ्नो जोखिमको अवस्था पहिचान गरेर खानपिन गर्ने र सोही अनुसार व्यायाम पनि गर्नुपर्छ।’ उनका अनुसार दशैंको समयमा मासुजन्य परिकार धेरै खाइने हुँदा सोही अनुसार अन्य समयमा भन्दा धेरै हिँडडुल गर्ने तथा व्यायाम गर्नुपर्छ।

डा राजेन्द्र कोजु पनि चाडबाडको समयमा अन्य समयको तुलनामा जति बढी खानेकुरा खाइन्छ त्यति नै शारीरिक व्यायाम गर्ने, दौडने, हिँड्ने लगायतका क्रियाकलाप गर्न आवश्यक रहेको बताउँछन्। ‘अन्य समयको तुलनामा दशैं–तिहारमा चार÷पाँच चोक्टा बढी मासु खाइएको छ भने अन्य समयभन्दा १५÷२० मिनेट बढी हिँड्ने तथा दौडने वा व्यायाम गर्नुपर्छ,’ उनी भन्छन्, ‘यसका साथै मासु र चिल्लो पदार्थ बढी खाइने भएकाले यो समयमा हरियो तरकारी र फलफूल पनि खानुपर्छ।’

चाडबाडका नाममा खानेकुरा जथाभावी खाइदिने, व्यायाम नगर्ने, अत्यधिक मदिरा सेवन गर्ने जस्ता कारण रोगले च्यापेर चाडबाड नै अस्पतालको शय्यामा बिताउन बाध्य हुने पनि विगतमा धेरै देखिएकाले मात्रा मिलाएर खानुका साथै शारीरिक सक्रियता बढाउन सुझाव दिन्छन् डा कोजु।

दशैं, तिहार तथा चाडपर्वपछि खानपानमा ध्यान नदिँदा उच्च रक्तचाप, मधुमेहका बिरामीहरु तथा यी समस्याको जोखिममा रहेकाहरुमा झन् बढी समस्यामा देखा पर्ने चिकित्सकहरु बताउँछन्। उनीहरुका अनुसार चाडबाडको समयमा पहिलेदेखि नै उच्च रक्तचाप, मधुमेह, युरिक एसिड जस्ता दीर्घरोगीले मासु, मदिरा, चिल्लो पदार्थ जस्ता खानेकुरा मनलाग्दी खाइदिए भने त ज्यान नै तलमाथि हुन सक्छ।

दशैं लगायतका चाडपर्वको समयमा लगातार जुवा–तास खेल्नेहरू ढाड, घुँडा, गर्दन र हड्डीका समस्या लिएर पनि अस्पताल धाउँछन्। पेटजन्य रोगका बिरामीको संख्या ह्वात्तै बढ्ने गरेको अस्पतालको तथ्यांकले पनि देखाउँछ। 

दशैंमा खासगरी मासु बढी खाने चलन छ। दशैं र मासु पर्यायवाची जस्तै मानिन्छ। यो समयमा मदिरा पनि उत्तिकै खपत हुन्छ। साकाहारी भोजन गर्नेहरु पनि यो समयमा मस्त मिठाइ खाइदिन्छन्। मासु, मदिरा र मिठाइ नै त्यस्ता खानेकुरा हुन् जसको अत्यधिक सेवन रोगको घर हो। डाक्टरहरूका अनुसार अस्वस्थ र राम्ररी नपकाइएको मासुले रोग ओसार्छ। त्यसमा पनि छाला सहितको र काँचो मासुबाट बनाइने परिकार त खानै नहुने उनीहरूको सल्लाह छ। रातो मासु, छाला वा त्यसमा हुने बोसोले नसर्ने खालका रोग मात्र होइन, जनावरलाई लागेका रोग समेत सर्ने सम्भावना हुने चिकित्सकहरु बताउँछन्।

चिकित्सकहरूका अनुसार रक्सीको अत्यधिक सेवनले कलेजो, मस्तिष्क, मुटु रोग, क्यान्सर, दुर्घटना, आत्महत्या र पागलपनसम्म पुर्‍याउँछ। रक्सीले रक्तचाप बढाउने र मस्तिष्कघात ९स्ट्रोक, प्यारालाइसिस०, मुटु सुन्निने र राम्रोसँग पम्प गर्न नसक्ने अवस्था उत्पन्न हुन्छ। त्यस कारण मधुमेह, मुटुरोग, मिर्गौला लगायतका रोग लागेका बिरामीले मदिरा छुन पनि नहुने चिकित्सकहरु बताउँछन्।

पोषणविद्हरुका अनुसार नेपालीको खानपान सामान्य समयमा समेत सन्तुलित छैन।  चाडबाडमा त झनै असन्तुलित खानपान हुन्छ। खानपानमा सागसब्जी र फलफूलको मात्रा निकै कम खाने गर्छन् नेपाली। फलस्वरुप चाडपर्वमा वा पछि मधुमेहका बिरामी, कोलेस्ट्रोल बढ्ने, झाडापखाला, फुड प्वाइजन, कब्जियत, कलेजो सिरोसिस जस्ता समस्या बढ्छन्। खानेकुरा समयमा नखाने, खाँदा एकै चोटी खानाले खानपिनमा कार्बोहाइडे«ट, प्रोटिन, फाइबरको सन्तुलन मिल्न नसग्दा समस्या बढिरहेको डाइटिसियन विनिता पन्त बताउँछिन्।

उनका अनुसार चाडपर्वमा अरु बेलाभन्दा चिल्लो र गुलियोको मात्रा बढ्छ। त्यसैले एउटा खानेकुरा अलि बढी खाँदा अर्को घटाएर खानुपर्छ। सबथोक एकै चौटी धेरै मात्रामा खाँदा स्वास्थ्यमा गडबडी आउन सक्छ। मासु भनेपछि मासु मात्र खाने र अरु चिज कम खायो भने पेट बिग्रिहाल्छ। शरीरका अन्य अंगमा पनि असर देखिन थाल्छ। 

डाइटिसियनहरुका अनुसार मानिसको शरीरको उचाइ, तौल र कार्य प्रकृतिका अनुसार उसलाई कति क्यालोरी चाहिन्छ भन्ने हुन्छ। अन्न, तरकारी, मासु र दूधजन्य खानेकुरा दैनिक खानपिनमा समावेश हुनुपर्ने उनीहरु बताउँछन्। बालबालिकाहरुमा ठूलो मान्छेभन्दा पाचन शक्ति कम हुन्छ। उनीहरुलाई जथाभावी खुवाउँदा झाडापखाला हुने, कब्जियत हुने समस्या देखिन्छ। एउटा आम मान्छेलाई दिनमा ४ चिया चम्चा तेल र २० देखि ३० ग्राम फाइबर, ३०० देखि ५०० ग्राम तरकारीको मात्रा दैनिक खानपिनमा समावेश हुुनुपर्ने बताउँछिन् डाइटिसियन पन्त। ‘भुटेर, तारेर खाने तर खानामा सागसब्जी नै हुन्न, यसो हेर्दा १० ग्राम जति पनि फाइबर खाएको देखिँदैन। यसो हुँदा रगतमा चिल्लोको मात्रा बढ्ने, मोटोपन बढ्ने, कोलेस्ट्रोल बढेर आउने, सुगरको मात्रा बढेर आउने, हाइपर टेन्सन हुने, प्रेसर बढी भएर आउने समस्या चाडपर्वको बेला हुन्छ,’ उनले भनिन्।