इनरुवाः देवानगञ्ज गाउँपालिका १ का ३३ वर्षीय पत्रकार विवेककुमार महेताले देवानगञ्ज गाउँपालिका २ का ४० वर्षीय बेचन खत्वेले ज्यान मार्ने धम्की दिएको आरोप लगाएका छन ।

सुनसरीमा सञ्चालित दर्शन एफएम र नागरिक अभियान अनलाइनमा कार्यरत पत्रकार मेहताले आफू ०८० कात्तिक २ गते देवानगञ्ज गाउँपालिका कार्यालयमा गएको अवस्थामा आरोपितले ज्यान मार्ने धम्की दिएको पीडित पत्रकारले बताए ।

आरोपित खत्वेले समाचार र रेडियोको विषयलाई लिएर धम्की दिएको आरोपमा पीडित पत्रकारले शान्ति सुरक्षाको माग गर्दै कात्तिक २ गते इलाका प्रहरी कार्यालय, देवानगञ्जमा उजुरी दिएका थिए ।

पीडितले न्यायका लागि पहल गरीदिन इन्सेक, सुनसरीलाई समेत निवेदन दिएको इन्सेक जिल्ला प्रतिनिधि जयकृष्ण यादवले जनाएका छन । आरोपित बेचन खत्वेसँग घटनामा विषयमा इन्सेकले जानकारी लिन खोज्दा आरोपित सम्पर्कमा आउन चाहेनन । पीडित पत्रकारले निवेदन दिएकाले घटनाका विषयमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । मानव अधिकार रक्षकसम्बन्धी घोषणापत्र सन् १९९८ ले पत्रकारलाई मानव अधिकार रक्षकका रुपमा परिभाषित गरेको छ ।