काठमाडौंः  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र वायुसेवा लगायत सम्बन्धित संस्थाबिच बाहिरबाट काठमाडौँ फर्किने आन्तरिक उडानमा हवाई भाडादर घटाउँदै लैजाने सहमति भएको छ । 

मन्त्रालयका उपसचिव टेक नारायण पौडेलका अनुसार नागरिकबाट आएको गुनासोलाई ध्यान दिँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अध्यक्षतामा नागरिक उड्डयन प्राधिकरण र आन्तरिक वायु सेवा संस्थाका पदाधिकारीबिच सोमबार बसेको बैठकमा विस्तृत छलफल भएको हो ।

बैठकमा वायुसेवा संस्थाले महँगो वर्गको टिकट सङ्ख्या बिक्रीको प्रतिशत क्रमशः कम गरी अधिकतम कम मूल्य वर्गको टिकट बिक्री बढाउँदै जाने सहमति भएको उनको भनाइ छ । 

विभिन्न सञ्चार माध्यममार्फत आन्तरिक वायुसेवाहरूको हवाई भाडा महँगो लिइरहेको भनी जनगुनासो आइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएकोले सरोकारवालाबिच छलफल सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

उनका अनुसार चाडपर्वको अवसरमा यात्रुलाई सुरक्षित, भरपर्दो, प्रभावकारी र सुलभ हवाई यातायातको प्रत्याभूति गराउन सम्बन्धित संस्थाहरूमा मन्त्री किरातीले निर्देशन समेत दिएका छन ।