झापाः  पूर्वी नाकाको सुरक्षा जाँचमा नेपाल प्रहरीले आजदेखि तालिम प्राप्त कुकुरको प्रयोग सुरु गरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक दीपक भारतीले नेपाल प्रहरीको कोशी प्रदेश कार्यालयबाट दुई वटा तालिम प्राप्त कुकुर झिकाएर नाकाको चेकजाँच सुरु गरिएको बताए ।

उनका अनुसार धरानबाट ल्याइएका जर्मन सेफर्ड जातका ती कुकुरमध्ये एउटाको नाम ‘पारु’ रहेको छ । ‘पारु’ले विष्फोटक पदार्थ पत्ता लगाउन सहयोग गर्ने उनको भनाइ छ । अर्को कुकुरको नाम ‘पिङ्कु’ रहेको छ । जसले सीमापारबाट यात्रुले शरीर र सवारी साधनमा लुकाएर ल्याएको लागुऔषध पत्ता लगाउन सहयोग गर्ने छ । 

ती कुकुर परिचालन गर्न नेपाल प्रहरीको कोशी प्रदेश कार्यालयबाट दुई जना प्रहरी खटिएका छन् । भारतको पश्चिम बङ्गाल, सिक्किम, आसाम, मेघालय, अरुणाचल, नागाल्याण्डलगायतका प्रान्तमा आवतजावत गर्नका लागि काँकडभिट्टा मुख्य नाका हो । स्थलमार्गबाट भुटान, बङ्गलादेश र म्यान्मार जाने पर्यटकले समेत यही नाका प्रयोग गर्दछन् । प्रहरीले मेची पुल नजिक चेकजाँचमा दुवै कुकुर प्रयोग गरेपछि नाकाको सुरक्षा जाँच थप कसिलो र व्यवस्थित हुने अपेक्षा गरिएको प्रनाउ भारतीले बताए। 

“चाडपर्वका बेला नाकामा भीड बढ्ने, यहीबेला लागुऔषध र पटाका लगायतका विष्फोटक पदार्थ लुकाई छिपाइ भित्र्याउने कार्य बढ्ने भएकाले चेकजाँचमा तालिम प्राप्त कुकुरको प्रयोग गरेका हौँ”, उनले भने, “लागुऔषध ओसारपसारको गतिविधि नियन्त्रणमा प्रहरीले ध्यान केन्द्रित गरे पनि भारतबाट ल्याउने कार्य रोकिएको छैन ।”

पूर्वी नाका काँकडभिट्टामा सुरक्षा जाँचलाई आधुनिक र प्रविधिमैत्री बनाउँदै लैजाने प्रहरीको योजना रहेको उनले बताए । दुई महिना अघिदेखि काँकडभिट्टाको पुरानो भन्सार क्षेत्रमा सवारीसाधन, नम्बर प्लेट, यात्रुको अनुहार र गतिमानसमेत रेकर्ड गर्नसक्ने राडार गनसहितको सिसी क्यामरा जडान गरिएको उनले जानकारी दिए । 

उक्त सिसी क्यामेराले राजमार्गमा ओहोरदोहोर गर्ने सवारी साधनको नम्बर प्लेटको तस्बिर खिच्ने र अभिलेख राख्ने कार्य गर्दछ । सवारी साधनको गतिमान समेत रेकर्ड गर्ने भएकाले सवारीसम्बन्धी अपराध अनुसन्धान गर्न र राजमार्गको चेकजाँच गर्न उक्त प्रविधिले मद्दत पुर्‍याइरहेको प्रनाउ भारतीले बताए । रासस