इटहरीः सुनसरीको इटहरीमा खुकुरी प्रहार गरी एक महिलाको बीभत्स हत्या भएको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर १७ मझौरा टोलस्थित एक महिलाको बीभत्स हत्या भएको हो ।

स्थानीय ४० वर्षीय नीमा तामाङले ३५ वर्षीया कमला तामाङको हत्या गरेका हुन् । उनीहरूबीचको सम्बन्ध जेठी सासु–ज्वाईँ (नीमाले कमलाकी बहिनी बिहे गरेको)रहेको छ । नीमाले कमलाको घाँटीमा पटकपटक खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक केशव गौतमकाअनुसार घटना सोमबार दिउँसो ३ः४५ बजेतिरको हो ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी कमलाको विराटनगरस्थित आर्या न्यूरो अस्पतालमा उपचारको क्रममा सोमबार साँझ ६ः२० बजेतिर मृत्यु भएको गौतमले पुष्टि गरे । ‘मृतक बहिनीसँग नीमाले पहिला बिहे गरेको र अहिले डिभोर्स भएको भनिएको छ । हामीले पूर्ण रूपमा बयान लिइसकेका छैनौँ,’ गौतमले भने, ‘आज जिल्ला अदालतबाट म्याद थप गरिएपछि थप बयान लिन्छौँ, त्यसपछि घटनाको कारण खुल्नेछ ।’

घरायसी कारणले नै हत्या भएको हुनसक्ने उनले बताए । स्थानीयबासीका अनुसार घरायसी व्यवहार बिग्रिएका कारण जेठीसासु कमलाको नीमाले हत्या गरेका हुन् । यसअघि पनि सामान्य विवाद हुँदै आएको र यसपटक भने खुकुरी नै बोकेर नियोजित ढंगबाट प्रहार भएको स्थानीयको दाबी छ । ‘खुकुरीले एकपटक होइन, पटकपटक प्रहार गरे,’ एक प्रत्यक्षदर्शीले भने, ‘घरायसी व्यवहार नै भएपनि हत्या गरिनुले त्रसित भएका छौँ ।’ मृतक कमलाका श्रीमान वैदेशिक रोजगारीका लागि मलेसियामा छन् । मृतककी दुई छोरी रहेका छन् ।

WhatsApp Image 2023-10-09 at 16.52.33