कैलालीः पढ्दै कमाउँदै कार्यक्रममा गत भदौ २५ गते इजरायल गएका कैलाली घोडाघोडी नगरपालिका ४ जनकपुरका नारायणप्रसाद न्यौपानेको परिवारमा यो समाचार बनाउँदासम्म इजरायलको घटनाबारे पत्तो छैन । 

इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाउने १० जनाको सूचीमा नारायणको नाम समेत छ । सूची सार्वजनिक भएसँगै नारायणको परिवारलाई सम्पर्क गर्दा उनीहरू इजरायलमा भएको घटनाप्रति बेखबर देखिन्थे । नारायणको परिवारको बारेमा जानकारी छिमेकी यशोदा बमसँग बुझ्ने प्रयास गरियो ।

बमका अनुसार कालिकोटको कोटबाडाबाट बसाइसराइ गरी आएका न्यौपाने परिवारमा तीन छोरा एक छोरी हुन् । नारायण ६ वर्षको हुँदा उनको आमाको मृत्यु भएको थियो । दुई छोरा र एक छोरी भएका हरिनन्द न्यौपानेले दोस्रो विवाह गरेर सीता न्यौपानेलाई भित्र्याए। सीताबाट एक छोरा छन् । सौतेनी आमा भए पनि छोराहरूप्रतिको जिम्मेवारी सबै पूरा गर्दै आएको छिमेकी बम्ले बताए ।

छोरा नारायणको बारेमा सितासँग बुझ्दा उनले वाईफाईमा पैसा सकिएपछि छोरासँग कुरा नभएको चार दिन भएको बताए। चार दिन अगाडि छोरासँग कुरा हुँदा राम्रै कुरा भएको र खर्चपानी नभए दुई दिनपछि पठाउने कुरा भएको थियो । 

आमा सीता न्यौपाने भन्छन, “ साँझ ६ बजेपछि कुरा हुन्थ्यो, चार दिन अगाडि कुरा भएको थियो ।दाइले पैसा नपठाएपछि तलब आउँछ दुई दिनपछि म पटाइदिन्छु भनेको थियो ।”

नारायण परिवारका तीन छोरामध्ये माइला छोरा हुन् । सानैदेखि पढाइमा जेहेन्दार नारायणले एसएलसी पास गरेसँगै कृषि विज्ञान विषय लिएर पढ्ने इच्छा जाहेर गरे । नजिक कलेज नभए पनि दुखसुख गरेर छोरालाई रोजेको विषय पढाउन महेन्द्रनगर पठाए । 

महेन्द्रनगरबाट विज्ञान विषयमा राम्रै नम्बर लिएर कक्षा १२ पास भएका नारायणले स्नातक तह टीकापुर स्थित सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायमा स्नातक अध्ययन गर्न थालेको तीन वर्ष भयो । 

नारायणले क्याम्पसले विदेश पठाउने भएको खबर परिवारलाई  सुनाएका थिए। आमा सीताले अरू छोराभन्दा पढाइमा पनि जेहेन्दार ,हक्की स्वभावको केही गर्ने खालको भएपछि छोराले भनेको कुरालाई कहिल्यै नाइँनास्ति नगरेको बताए। सीताले भने “जेठोको पढाइमा खासै ध्यान थिएन, १० कक्षासम्म पढ्यो, विवाह गरेर अहिले बुढाबुढी दुवै इन्डिया छन् । कान्छो छोरो भर्खर ६ कक्षामा पढ्छ ।” गाउँमा खेतीपातीबाट नै जीवन निर्वाह गर्ने न्यौपाने परिवारमा भाइकै पढाइ खर्च जुटाउन नारायणका दाजु भारतमा मजदुरी गर्दै छन् ।

नारायणका बुवा हरिकृष्ण न्यौपाने सोझो निरक्षर छन । उनलाई छोरोले के विषय कुन क्याम्पसमा पढ्दै छ भन्न पनि आउँदैन । “कृषि विषय हो कि, भेटनरी पढ्न गएको हो ” हरिकृष्णले भने । २५ वर्षीय नारायणले इजरायल जानुभन्दा पहिले छ महिना दार्चुलामा तालिम (इन्टर्न) गरेर आएका थिए । इजरायल जाँदा दुई लाख जति खर्च भएको बताउने नारायणको परिवारलाई यो समाचार तयार पार्दासम्म मृत्युको खबर दिइएको छैन ।

 सीताले छोराले भनेको कुरा सम्झँदै भनिन “ क्याम्पसले पठाउने हो , जाने म जस्तै अरु पनि धेरै छन्  यतैका छन् सबै,एक बर्ष बसेर सिक्दै कमाउँदै गर्ने हो भनेको थियो ।”इजरायलमा भएको आक्रमणको घटना बताएपछि थाहा पाएकी  सीताले छिमेकीको घरमा नेट भएको र गएर छोरासँग कुरा गर्ने बताइन ।

इजरायलको आक्रमणमा ज्यान गुमाउने नारायण जस्तै कैलालीको बर्दगोरिया गाउँपालिका ३ का आशिष् चौधरीको नाम सार्वजनिक भएको छ ।

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायका ४९ जना विद्यार्थीमध्ये १७ जना इजरायलको सेवति नेगेभमा कृषि फार्ममा थिए । सोही क्षेत्रमा हमासको आक्रमणपछि १२ नेपाली विद्यार्थी सम्पर्कविहीनमध्ये १० जनाको मृत्यु भएको खबर सार्वजनिक भएको हो  । गोरखापत्रबाट