फिल्म ‘महाजात्रा’को निर्माण प्रारम्भ नहुँदै विदेशका अधिकांश देशमा प्रदर्शन अधिकार बिक्री भएको छ । 

अष्ट्रेलियामा रहेर केही समययता नेपालबाहेक विश्व प्रदर्शन अधिकार खरिद गरिरहेको एमएसएम इन्टरटेन्मेन्टका लागि वितरक छत्र थापाले ‘महाजात्रा’ को भारत बाहेकका लागि प्रदर्शन अधिकार खरिद गरेको हो ।

पछिल्लो समय नेपाली फिल्मले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट मुनाफा पनि प्राप्त गर्न थालेको छ । नेपालका राम्रा र प्रतिष्ठित समूहले निर्माण गरेका फिल्मलाई विदेशमा रहेका दर्शकले पनि हेर्न थालेपछि नेपाली फिल्मको बजार विस्तार हुनुका साथै मुनाफा समेत दिन थालेका हुन्। यसले नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजार बलियो बनाउनुका साथै दर्शकसमेत बढाइरहेको छ ।

मौलिक कथा र कलात्मक प्रस्तुति रहेका नेपाली फिल्मका लागि अष्ट्रेलिया, अमेरिका, जापान, बेलायत, मध्यपूर्व लगायतका देशमा बजार बलियो भइरहेको छ । कुनै समय रेस्टुराँ वा सामुदायिक भवनमा प्रदर्शन हुने ती फिल्म अहिले विदेशी फिल्म जसरी नै फिल्म हलमै दर्शकले हेर्न पाउँछन् । 

दर्शक बढाउने काम केही फिल्महरूले गरेका छन् । ती मध्येको एक हो ,‘जात्रा’ शृङ्खला । षट्कोण आर्ट्सले निर्माण गरेका फिल्महरूले अन्तर्राष्ट्रिय बजार विस्तारमा उल्लेख्य भूमिका निर्वाह गरेको छ । त्यहीँ कारण उक्त कम्पनीले निर्माण गर्ने आगामी फिल्म ‘महाजात्रा’ निर्माण प्रारम्भ नहुँदै विदेशका अधिकांश देशमा प्रदर्शन अधिकार विक्री भइसकेको छ । 

षट्कोण आर्ट्सले नै निर्माण गर्न लागेको अर्को नयाँ फिल्म ‘महाजात्रा’को कथाले पूर्णता नपाउँदै फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गर्नु लाई ‘जात्रा’ शृङ्खला प्रति दर्शकमा रहेको विश्वासलाई मुख्य कारण थापाले देखाएका छन् । 

‘जात्राका दुवै शृङ्खलाले दर्शकको मन जितेको छ । अन्य फिल्मको प्रदर्शनीको समयमा समेत जात्राको आगामी शृङ्खला कहिले आउँछ ? भन्ने जिज्ञासा सुनिन्छ । त्यही कारणले पनि मैले निर्माण पक्षलाई दर्शकको भावना सुनाए । उहाँहरूले निर्माण तय गरेर लेखनकै क्रममा हुँदा अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गरेँ’, वितरक थापाले भने, ‘मैले खरिद गरेको थाहा भएपछि धेरैले मसँग अधिकांश देशमा प्रदर्शन अधिकार खरिद गरिसक्नु भएको छ । सबैले मेकर्सलाई विश्वास गर्नुभएको छ, साथै जात्राको अघिल्लो श्रृङ्खलाले बनाएको ब्राण्डको विश्वसनीयता पनि हो ।’

वितरक थापाले प्रवासमा रहेका नेपाली दर्शकले निर्देशक प्रदीप भट्टराई, षट्कोण आर्ट्स, रवीन्द्रसिंह बानियाँ लगायतको समूहलाई निर्धक्क विश्वास गर्ने भएकाले अहिलेसम्मकै महँगो मूल्य तिरेर प्रदर्शन अधिकार खरिद गरेको जानकारी दिए ।

यता, निर्देशक भट्टराई मेरो फिल्मसँग कुरा गर्दा दुई करोड भन्दा बढी रकममा बिक्री भएको बताए । उनले भने, 'बिक्री महंगोमा नै भएको हो तर मलाई यकिन यति नै हो भन्ने थाहा छैन तर दुई करोड भन्दा माथि नै रहेको छ ।'

वितरक थापाले जापान, हङ्गकङ्ग, न्युजिल्यान्ड, दक्षिण कोरिया, मध्यपूर्वका देशहरू, अष्ट्रेलिया, युरोपमा फिल्म नेपालकै मिति चैत्र ९ मा प्रदर्शन हुने तय भएको र अन्य बाँकी देशमा उक्त समयसम्म प्रदर्शन तय हुने जानकारी दिए । उनले ‘महाजात्रा’ मार्फत केही नयाँ देशहरूमा नियमित फिल्म प्रदर्शनको सुरुआत हुने समेत जानकारी गराए । 

आपत्कालीन आइपर्ने अवसर र त्यसको व्यवस्थापनले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’ मा लेखन तथा निर्देशन प्रदीप भट्टराईको रहेको छ । 

यसमा विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्कासँगै यस पटक हरिवंश आचार्य जोडिनुभएको छ । दर्शकको विश्वास जितेर एकपछि अर्को सफलता प्राप्त गर्दै नयाँ रेकर्ड बनाइरहेको ‘जात्रा’ शृङ्खलाको आगामी चलचित्र ‘महाजात्रा’ लाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गर्नेछन् । प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेको फिल्मको छायाङ्कन दसैँ लगत्तै सुरु हुनेछ ।