उदयपुरः उदयपुरको दुई छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

शनिबार साँझ सवा ७ बजे बिषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उदयपुरको बेलका नगरपालिका ८ कोठु स्थित कोशी पुल नजिकै आउदै गरेका सुनसरीको कोशी गाउँपालीका ५ श्रीपुरका २१ बर्षीय खैरुल वासरलाई चेकजाँच गर्दा निजको साथबाट २० ग्राम ९० मिलिग्राम लागुऔषध ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको  थियो ।

 यसका साथै चेकजाँचमा खटिएको प्रहरीको सोही टोलीले १६ ग्राम ४७० मिलि ग्राम लागुऔषध ब्राउन सुगर सहित सप्तरीको कंकालिनी नगरपालिका १ का २७ बर्षीय बेचन मण्डल र ३२ बर्षीय जितेन्द्र मुखियालाई उदयपुरको बेलका नगरपालिका १ आम्वासी स्थितबाट प्र २०१-००१ प ४९५० नम्बरको मोटरसाईकलमा फत्तेपुरबाट उदयपुरको रामपुतर्फ आउदै गरेको अवस्थामा नियन्त्रणमा लिईएको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको छ ।