काठमाडौँः  दसैँमा नै चलचित्र प्रदर्शन गर्न निर्माता निर्देशकहरूबिच होडबाजी चल्ने गरेको छ । चलचित्रले बजार लिए पनि नलिए पनि प्रायः सबै निर्माता निर्देशक दसैँलाई लक्षित गरेर आफ्नो चलचित्र प्रदर्शन गर्ने तयारीमा रहेका छन् । अन्य समयको तुलनामा चाडपर्वका बेला चलचित्र धेरै चल्ने चलचित्रकर्मीहरूको बुझाइ छ । 

यही मेसोमा दसैँको फूलपातीमा चलचित्र ‘भस्मे डन’ प्रदर्शन  हुँदै छ । चलचित्र ‘पशुपति प्रसाद’ को दोस्रो शृङ्खला हो र धेरैले यसले राम्रै व्यापार गर्ने अनुमान गरेका छन् । चलचित्रको विदेशमा समेत बुकिङ हुन थालिसकेको छ । चलचित्रलाई दीपेन्द्र के खनाल र खगेन्द्र लामिछानेको टिमले बनाएको हो । सोही मितिमा टाइगर श्राफ अभिनीत हिन्दी चलचित्र ‘गणपत’ र दक्षिण भारतीय अभिनेता थलापति विजय स्टारर ‘लियो’ पनि प्रदर्शन हुँदै छ । यी तीनवटै निकै प्रतीक्षित चलचित्र हुन् । यी तीनवटै चलचित्रमा सबैको आँखा भने भस्मे डनमा नै अडिएको छ ।

 दुई चलचित्रले नेपाली चलचित्रको व्यापारमा अवश्य नै असर त गर्छ तर ‘वर्ड अफ माउथ पब्लिसिटी’ राम्रो गर्ने हो भने ‘पशुपति प्रसाद २’ र ‘भस्मे डन’ को व्यापारले अवश्य नै बाजी मार्न सक्छ । निर्देशक दीपेन्द्र के खनाल चलचित्र चल्ने नचल्ने भन्ने कुरा दर्शकमा भरपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “चलचित्रलाई केही दिन असर पर्ला किनकि सोहरू बाँडिन सक्छन् तर केही दिनपछि भने चलचित्रले अवश्य ‘हाइप’ लिन्छ ।” 

त्यस्तै असोज २६ गते नारायण रायमाझी निर्देशित ‘परदेशी २’ र ‘बासेन्जी’ प्रदर्शन हुँदै छ । चलचित्र परदेशी र गोर्खापल्टन जस्ता राम्रा चलचित्र दर्शकलाई दिइसकेका रायमाझीसामु ‘परदेशी’ को दोस्रो शृङ्खलाबाट पनि राम्रै चर्चा बटुल्ने आशा गरिएको छ । गायक प्रकाश सपुतको डेब्यु चलचित्र भएको हुनाले पनि चलचित्रबाट धेरै आशा गरिएको छ । यद्यपि अर्को चलचित्र बासेन्जीलाई चलचित्रसँग जुध्नुभन्दा पनि दर्शकबाट राम्रो समीक्षा राम्रो आइदेओस् भन्ने मात्र छ । त्यसैले यदि परदेशी २ ले पहिलाकै शृङ्खलाको लय समातेको छ भने चलचित्रले अवश्य राम्रो व्यापार गर्ने छ । चलचित्र ‘छड्के २’ बाट अभिनयमा डेब्यु गरेका अमेरिकी निर्देशक इयान क्लेमेन्टको चलचित्र हो बासेन्जी । परदेशी २ का निर्देशक नारायण रायमाझी भन्छन, “परदेशीलाई दर्शकले पहिला जसरी मन पराउनुभएको थियो त्यसरी नै यसलाई पनि मन पराउनुहुन्छ ।” अब सबै दर्शकको हातमा छ । 

कात्तिक २४ गते चलचित्र लुटका निर्देशक निश्चल बस्नेतको ‘दिमाग खराब’ प्रदर्शन हुँदै छ । सोही मितिमा सलमान खान अभिनीत बलिउड चलचित्र ‘टाइगर ३’ पनि प्रदर्शनमा आउँदै छ । यस पटक निर्देशक बस्नेतले चलचित्र प्रदर्शनमा ल्याउने घोषणा गरेर एक किसिमको जोखिम उठाएका छन । उनको चलचित्रले पनि वर्ड अफ माउथ सकारात्मक आएको खण्डमा राम्रो व्यापार गर्न सक्ने सङ्केत देखिन्छ । सलमान अभिनीत टाइगरले अघिल्लो दुई सिरिजमा बक्स अफिसमा धेरै राम्रो व्यापार गरेको थियो । त्यसैले यसको तेस्रो सिरिजले पनि बक्स अफिसमा ब्लकबस्टर व्यापार गर्दैन भन्न सकिँदैन । यस कारण यो पनि हो कि दर्शकका लागि दुवै चलचित्र धेरै प्रतीक्षित छन् । 

नेपाली चलचित्रको दसैँतिहार यस पटक अवसर र चुनौतीबिच अगाडि बढ्ने पक्का छ । यदि दसैँतिहारमा नेपाली चलचित्रले राम्रो व्यापार ग¥यो भने नेपालमा बलिउड र साउथको दबदबा धेरै हदसम्म कम हुने छ । त्यसो त बलिउडका लागि ‘गणपत’ र ‘टाइगर ३’ महत्वपूर्ण छ, नेपाली चलचित्र क्षेत्रका लागि ‘पशुपति प्रसाद २’, ‘भस्मे डन’ र ‘दिमाग खराब’ को व्यापारिक सफलता झन् धेरै महत्वपूर्ण छ ।