काठमाडौंः काठमाडौँभित्रको पनि मुख्य सहर, जमल । सवारी साधनको चाप, जामको समय । साँझको ५ः३० बजे सहर, रहर र कहर एकैसाथ असोजको झरीमा भिजिरहेका थिए । पानीलाई चुनौति दिनेहरुको एक भिड साँस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)मा उपस्थित थियो । उपस्थितिको मुख्य आकर्षण ‘कथक नृत्य’ थियो । भारतकी प्रसिद्ध नृत्य कलाकार रञ्जना फडके थिइन ।

बाहिर पानी आफ्नै गतिमा दर्किरहेको थियो, भित्र प्रतिष्ठित कथक नृत्य कलाकार तथा नृत्य गुरु रञ्जना फड्के नाचघरमा कथकमय बनाइरहेकी थिइन् । फडकेको नेतृत्वमा उनका २ शिष्य सम्मेलित ३ सदस्यीय समूहद्वारा कथक नृत्य प्रस्तुत गरिरहँदा नाचघर तालीले गुञ्चयमान भइरह्यो, निरन्तर । उनलाई युवा कलाकार सुरवी सिन्त्रे र रसिका गांगलले नृत्यमा साथ दिएका थिए ।

नृत्यका बिचमा फडके कहिले शिवको भक्तिगानमा विश्राम लिन्थिन् त कहिले कृष्णको लीलामा, कहिले दुर्गा माताको स्तूतिमा त कहिले हिन्दुहरूका आराध्यदेव पशुपतिनाथको कथक–कविता (भजन) मा ।

386201810_10211138195928335_6845181179302428428_n

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा फड्केको नेतृत्वमा रहेको समूहले भगवान शिव, कृष्ण, दुर्गा, पशुपतिनाथ र तीन तालमा आधारित ६ वटा कथक नृत्यको प्रस्तुति दिएका थिए। उनलाई युवा कलाकार सुरवी सिन्त्रे र रसिका गांगलले नृत्यमा साथ दिएका थिए।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र तथा साँस्कृतिक संस्थानको संयुक्त आयोजनामा कार्यक्रम गरिएको थियो ।

असोज १७ गते आरोहण गुरूकुल  विराटनगर तथा असोज १८ गते भानु सभाहल, पोखरामा पनि कार्यक्रमको तयारी पूरा भएको सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्माले जनाएकी छन् ।

को हुन् रञ्जना फडके ?

रञ्जना पडके भारतकी प्रशिद्ध शास्त्रीय नृत्य कलाकार तथा नृत्य निर्देशक हुन् । भारतमा मात्र नभएर, विश्वभर ‘कथक नृत्य’का लागि उनी प्रशिद्ध छिन् । उनले युवा नृत्य प्रेमीहरूलाई तालिम दिन २० वर्षदेखि ‘कथकालय’ नामक सञ्चालन गरी युवाहरूलाई प्रशिक्षित गरिरहेकी छिन् ।

रञ्जना फडके भारतका शास्त्रीय नृत्यहरूमा नृत्य र निर्देशनबाट प्राण भर्छिन् । साथै, कथकालयमार्फत् युवाहरूलाई प्रशिक्षण गरी कथकलगायत शास्त्रीय नृत्यहरूको संवर्धनमा लागिपरेकी छिन् ।