इटहरीः आचार्य श्रीनिवास सुनसरीको बराहक्षेत्रस्थित निवासबाट पक्राउ परेका छन्। धनुषास्थित एक कार्यक्रममा हिंसात्मक अभिब्यक्ति दिएको भन्दै आचार्य श्रीनिवासलाई प्रहरीले पक्राउ गरेको हो।

केहिदिन पहिला धनुषाको एक कार्यक्रममा श्रीनिवासले नाङ्गो खुकुरी देखाउँदै हिंसात्मक अभिब्यक्ति दिएका थिए। सोही अभिब्यक्ति बिरुद्व जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन परेको थियो।

धनुषामा परेको निवेदनका आधारमा पक्राउ पुर्जी जारी भएको र सोही पक्राउ पुर्जीका आधारमा श्रीनिवासलाई काठमाण्डौबाट खटिएको केन्द्रीय अनुसन्धान  ब्युरो र  प्रादेशिक अनुसन्धान समुहको टोलीले पक्राउ गरेको हो। श्रीनिवासलाई मंगलबार सुनसरी राखेर बुधबार बिहान धनुषा पठाईने प्रहरी उच्च श्रोतले  जानकारी दिएको छ।

केही बर्ष पहिला पनि बिराटनगरस्थित एक धार्मिक कार्यक्रममा धार्मिक द्वेष फैलाउन आफैलाई गोली हान्न लगाइ घाईते बनेका थिए। प्रहरी अनुसन्धानका क्रममा श्रीनिवासले आफ्नै पाखुरामा गोली हान्न लगाएर घाईते बनेको पुष्ठि भएको थियो।

त्यसअघि उनले इटहरीमा पनि धार्मिक कार्यक्रमको नाममा ताण्डप नै मच्चाएका थिए । तत्कालिन इटहरीका डिएसपी विनोद शर्माले उनले धर्मका नाममा द्धन्द्ध फैलाउने कार्यलाई निस्तेज बनाएका थिए ।