इटहरीः इटहरी उपमहानगरपालिकाले पछिल्ला समयमा थालेका केही राम्रा कार्यलाई समयमै पुरा गर्न नसक्दा अनेक खालका आलोचनाहरु प्रतिदिन बढ्दै गईरहेको छ ।
नयाँ आर्थिक बर्षको सुरुवातसँगै इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल अग्रसर भई इटहरी उपमहानगर भित्र खोला, पैनी, कुलो मिचेर बनाइएका संरचना भत्काउन ३५ दिनभित्रमा भत्काउन सार्वजनिक रुपमा सूचना नै जारी भयो ।
उनले वातावरण शाखाका प्रमुख पुष्पनारायण चौधरीको संयोजकत्वमा प्राविधिक सहितको एक अध्ययन प्रतिवेदन टोली नै गठन पनि गरे । टोलीमा इटहरी उपमहानगरपालिका घर नक्सा शाखाका इन्जिनियर, अमिन लगायतको सदस्यहरु समावेश गरिएको थियो । टोलीका संयोजक चौधरीका अनुसार अध्ययन प्रतिवेदन तयार गरि इटहरी उपमहानगरपालिकाको घर नक्सा शाखालाई बुझाईसकिएको छ ।
त्यो बिचमा इटहरी उपमहानगरले १५ दिने र अन्तीम पटक ७ दिने सूचना नै जारी गरि त्यस्ता संरचना आफै भत्काउन नगरवासीमा सार्वजनिक रुपमै सूचना जारी गर्यो । इटहरी उपमहानगरले हरेक सूचनामा अटेर गरे नगरपालिका आफैले भत्काउने चेतावनी दिँदै पनि आयो । तर, अन्तीम पटक ७ दिनेको म्याद दिएर सूचना जारी भएको २७ दिन पुरा हुँदासम्म इटहरी उपमहानगरपालिकाले त्यस्ता संरचनाहरु भत्काउन थालेको छैन् । इटहरी उपमहानगरपालिकाबाट त्यस्ता संरचना भत्काउनका लागि पहिलो पटक गत असार ३१ गते ३५ दिनको म्याद राखेर सूचना जारी गरिएको थियो । जारी भएको सूचनामा नगर प्रमुख हेमकर्ण पौडेलले हस्ताक्षर गरेका थिए ।
दोस्रो पटक भदौ ३ गते १५ दिनको म्याद राखेर अर्को सूचना नगर प्रमुख पौडेलको हस्ताक्षरमा नगरवासीका लागि जारी गरिएको थियो । दोस्रो सूचना जारी गर्दा पनि खोला, नदी, नाला र पैनी मिचेर संरचना बनाएर बसेका नगरवासीहरुले टेरपुच्छर नै लगाएनन । त्यसपछि नगरप्रमुख पौडेलले अन्तीम पटक भदौ १७ गते ७ दिनको म्याद राखेर सूचना जारी गरेका थिए । अन्तमीम पटकको सूचना जारी भएको पनि २७ दिन भयो । तर नगर प्रमुख पौडेल आफ्नै हातले हस्ताक्षर गरि जारी गरेको सूचनाको कार्यन्यवन गर्न तर्फ लागि नपरेको पाईएको छ ।
आफैले मिडियाहरुलाई राखेर नगरवासीलाई जानकारी गराएर थालेको कामलाई निचोडमा पुर्याउनुको साटो त्यसबीच अन्य कार्यमा नगरप्रमुख लागि परेको भन्दै चर्को आलोचना हुँदा पनि चुपचाप बस्नुलाई सबैले अनेक खालका आशंका , आलोचना र टिकाटिप्पणी गर्न थालेका छन् ।
इटहरी उपमहानगरपालिका वडा नम्बर ४ का एमाले युवा नेता सुनिल कार्कीले त सामाजिक सञ्जाल फेसबुकमै स्टाटस लेखेर सूचना निकाले तर्साएर बार्गेनिङ÷ आर्थिक चलखेल त भएन ? भनेर प्रश्न गरी नगरप्रमुख पौडेललाई ठाडो चुतौति दिएका छन् । उनले थप शंका व्यक्त गर्ने ब्ल्याकमेलिङ त भएन भन्दै अर्को प्रश्न गरेका छन् । पटक पटक सूचना जारी हुँदा डोजर अवैध संरचना भत्काउन जाने आशा राखेपनि त्यही डोजर भने कानून विपरित खोला खन्न भएको भन्दै कार्कीले तिखो व्यङ्ग गरेका छन् ।
कार्कीले फेसबुकमा हालेको स्टाटसमा नगरवासीहरुले मेयरको कार्यशैली प्रति शंका व्यक्त गर्दै नेपालको कानुन भगवान नै जान्नुन हो, त्यस्तै होला नि ? अझ ईटहरी नगरपालिकाको कानुन भन्ने टिप्पणी गरेका छन् । अर्काले हात्ती आयो हात्ती आयो अनि फुस्सा नाटक नै हो भनि प्रतिक्रिया दिएका छन् ।
कर समायोजनको माग राख्दै निरन्तर आन्दोलन गरिरहेको रास्वपा कोशी प्रदेशका प्रवक्ता कमलबाबु मैनालीले इटहरी उपमहानगरका प्रमुख पौडेलका पछिल्ला कार्यहरु नगरवासीका हितमा भएपनि काम अधुरो छोड्ने प्रवृतिले अनेक खालका आशंकाहरु पैदा भएको बताए । उनले आफ्नो पार्टीलाई उनको कार्यशैली प्रति शंका रहेको बताए । अवैध संरचाना भत्काउन जारी गरिएको सूचना देखि लिएर इटहरीमा फष्टाएको नेटवर्किङ व्यवसाय गर्ने कार्यालयमा गरिएको छापा हानिएर चुपचाप बसेको कार्य, तोक आदेशका भरमा महालेखा र अख्तियारको निर्देशनलाई वेवास्था गर्दै कर्मचारी नियुक्ती जस्ता बिषयमा रास्वपा अब गम्भिर भएर खोजीमा लाग्ने मैनालीले बताए ।
माओवादी केन्द्रका इटहरी अध्यक्ष ज्वाला तामांगले पछिल्ला समय नगरप्रमुख पौडेलले राम्रो काम थालेको भएपनि के कति कारण अधुरो राख्नु भएको हो ? आफुहरुले पनि बुझ्न नसकेको बताए । उनले माओवादी केन्द्रले नगरको विकासका लागि राम्रो काम गरे साथ दिने र नराम्रो गरे त्यसको कडा ढंगले प्रतिवाद गर्ने पार्टीको रणनिति नै रहेको बताए । उनले १६ गतेपछि पार्टीले स्थानीय सरकारले गरेका गलत कार्यहरुको जनतासामु भण्डारफोर गर्ने र नगरवासीलाई सचेत गराई जनप्रतिनिधि तथा कर्मचारीलाई खबरदारी गर्ने कार्यक्रम नै रहेको जानकारी दिए ।
अवैध संरचना भत्काउनका लागि प्रतिवेदन तयार गर्न गठिन समितिका संयोजक चौधरीले घर नक्सा शाखामा बुझाएको प्रतिवेदन अब कार्यपालिका बैंठकमा राखेर कुन र कस्तो मोडालिटीमा अगाडि बढ्ने निर्णय गरेपछि मात्र अवैध संरचनाहरु भत्काउन इटहरी उपमहानगरको टोली फिल्डमा खटिने बताए । उनले विविध कारणले कार्यपालिका बैंठक हाल बस्न नसकेकाले पनि अलिक ढिलाई भएको उनको भनाई छ ।
इटहरी उपमहानगरपालिकाका प्रमुख पौडेलले भन्ने बित्तिकै सबै काम नहुने बताए । उनले कसैले समाजिक सञ्जालमा लेख्दैमा दौडिहाल्ने भन्ने हुँदैन । समाजिक सञ्जालमा बजार जे जस्तो टिकाटिप्पणी र आलोचना भएपनि नगर सरकार नियम पद्धती र कानून अनुसार आफ्नो लयमा हिड्छ । अवैध संरचना भत्काउनका लागि अध्ययन समितिले प्रतिवेदन दिईसकेको छ । अब कार्यपालिका बैंठक राखेर सबैको साथ सहयोगमा कुनै पनि हालतमा अवैध संरचना भत्काइन्छ । उनले नगरप्रहरीले मात्र नहुने भएकाले नेपाल प्रहरीको पनि साथ लिनु पर्ने भएकाले त्यही अनुसार तयारीमा लागेको उनले बताए । उनले सामाजिक सञ्जालमा हुने आलोचना र टिकाटिप्पणीका पछि नलाग्ने नगरवासीमा अनुरोध पनि गरेका छन् ।